नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेला पाँचबुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । भेलाले पार्टीको १५औँ महाधिवेशन, संगठनात्मक एकता, राष्ट्रिय मेलमिलाप, धार्मिक तथा सांस्कृतिक पहिचान र संविधान संशोधनलाई प्राथमिकतामा राखेको छ ।
भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णयअनुसार नै १५औँ महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । निवर्तमान सभापति शेरबहादुर देउवाकै नेतृत्वमा महाधिवेशन सम्पन्न हुने र त्यसअवधिसम्म पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने विश्वाससमेत व्यक्त गरिएको छ । महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकहरूले समन्वय गर्ने निर्णय गरिएको छ ।
यस्तै, भेलाले बीपी कोइरालाले २०३३ सालमा अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलापको नीति वर्तमान राजनीतिक परिस्थितिमा पनि सान्दर्भिक रहेको निष्कर्ष निकालेको छ । राष्ट्रियता र लोकतन्त्रलाई थप सुदृढ बनाउन सबै लोकतन्त्रवादी शक्तिसँग संवाद र सहकार्य गर्दै अघि बढ्ने प्रस्ताव पारित गरिएको छ ।
भेलाले सनातन धर्म तथा संस्कृतिलाई नेपालको राष्ट्रिय पहिचानसँग जोडेर संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएको छ । हिन्दु, बौद्ध, किरात तथा प्राकृत धर्मका धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण गर्दै धार्मिक स्वतन्त्रता र सामाजिक सद्भाव कायम गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।
त्यसैगरी, संविधानमा देखिएका अस्पष्टता तथा जनअपेक्षालाई सम्बोधन गर्न आवश्यक संशोधनका लागि कांग्रेसले पहल गर्नुपर्ने निष्कर्ष भेलाले निकालेको छ । संविधानले तोकेको प्रक्रियाअनुसार राजनीतिक तथा सामाजिक पक्षसँग संवाद गरी आवश्यक निकास खोज्नुपर्नेमा पनि जोड दिइएको छ ।
भेलाले आगामी महाधिवेशनसम्म पार्टीलाई एकताबद्ध बनाउँदै संगठन सुदृढीकरण, राष्ट्रिय मेलमिलाप र संविधान सुधारका एजेन्डालाई अघि बढाउने संकेत गरेको छ ।


