नेपाली काँग्रेसको संस्थापन इतर समूहले १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने भएको छ । महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बिहीबार बसेको शीर्ष नेताहरूको बैठकले अदालत जाने निर्णय गरेको हो ।
संस्थापन इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार, महाराजगञ्ज बैठकले जतिसक्दो चाँडो महाधिवेशन रोक्न माग गर्दै अदालतमा निवेदन दिने निर्णय भएको छ । शुक्रबारसम्म निवेदन दर्ता हुने उनको भनाइ छ ।
अदालतमा पार्टीको आधिकारिकतासम्बन्धी विवादको मुद्दा पुनः सुनुवाइ हुने भएपछि महाधिवेशन प्रक्रिया अगाडि बढाउन नहुने इतर समूहको तर्क छ । तर, पार्टीले भने महाधिवेशन प्रक्रिया अगाडि बढाइसकेको छ ।
केन्द्रीय निर्वाचन समितिको पछिल्लो निर्णयअनुसार पार्टीको वडा अधिवेशन २४ भदौमा हुने भएको छ । काँग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने पूर्वनिर्णयलाई यथावत् राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिका हेरफेर गरेको छ ।


