निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले अद्यावधिकका लागि असोज १ गते वेवसाइटमा मतदाता नामावली प्रकाशन गर्ने भएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, उक्त मतदाता नामावलीमा रहेका विवरण यथार्थ र अद्यावधिक बनाउन सम्बन्धित मतदाताको समेत महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले, आवश्यक सूचनासहित सम्बन्धित निर्वाचन कार्यालय वा अनलाइन मार्फत निवेदन दिई सहयोग गर्न अनुरोध गरिएको हो ।
मतदाता नामावलीमा आफ्नो नाम, थर, उमेर, ठेगानालगायत विवरणमा भएको त्रुटि सच्याउनुपर्ने भएमा, कसैले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको जानकारी भएमा सूचना दिन भनिएको छ ।
यसैगरी, नागरिकता त्याग गरेका वा मृत्यु भएका व्यक्तिको नाम मतदाता नामावलीमा कायम रहेको पाइएमा सम्बन्धित व्यक्तिको विवरण अद्यावधिक गराउन सूचना दिन सकिने आयोगले जनाएको छ । निवेदन तथा सूचना आयोगको वेबसाइट मार्फत पेस गर्न सकिनेछ ।
त्यस्तै, कुनै मतदाताको नाम एकभन्दा वढी स्थानमा समावेश रहेको भए एक स्थानमा मात्र कायम गर्न, बसाइँसराइ गरी वा विवाह भई स्थायी ठेगाना परिवर्तन भएको भएमा सोहीबमोजिम मतदाता नामावलीमा ठेगाना अद्यावधिक गर्न आयोगले आग्रह गरेको छ ।


