रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीपछिको महाविपद्बारे छलफल गर्न प्रतिनिधिसभाको बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको मंगलबार बसेको बैठकले बुधबार प्रतिनिधिसभा बैठक बोलाउने निर्णय गरेको हो । बैठकमा सभामुख डोलप्रसाद अर्यालले महाविपद्बारे विशेष प्रस्ताव पेस गर्ने तय भएको छ ।
सभामुखले पेस गर्ने विशेष प्रस्तावमाथि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूले धारणा राख्नेछन् । भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, जारी खोज तथा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका विषय संसद्को छलफलमा आउने भएका छन् ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । बाढीसँगै आएको गेग्रानका कारण भोटेकोशी र त्यसपछि त्रिशूली नदीको बहाव एकाएक बढ्दा नदी आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा व्यापक क्षति पुगेको छ ।
बाढीले स्थानीय बस्ती र पूर्वाधारसँगै गोसाइँकुण्ड तथा कैलाश मानसरोवर यात्रामा रहेका पर्यटकलाई समेत प्रभावित बनाएको छ । विभिन्न क्षेत्रमा खोज, उद्धार तथा राहतको काम जारी छ ।
भोटेकोशीमा बाढी आएकै दिन भदौ १० गते प्रतिनिधिसभाको बैठक बसेको थियो । त्यसपछि अनिश्चितकालका लागि स्थगित भएको बैठक विपद्बारे विशेष छलफलसहित बुधबार पुनः बस्न लागेको हो ।

