Banijya News

पुरानो सोच र कार्यशैलीबाट नयाँ नेपाल निर्माण सम्भव छैनः गृहमन्त्री गुरुङ

1
1.0K Shares

गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनको इतिहासलाई आफ्नो अनुकूल व्याख्या गरी परिवर्तन गर्ने प्रयास नगर्न पुराना राजनीतिक दल तथा नेताहरूलाई चेतावनी दिएका छन् । जेनजी सहिद दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले आन्दोलनको मर्म र युवाहरूको बलिदानलाई अपमान नगर्न आग्रह गरे ।

गृहमन्त्री गुरुङले शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनमाथि दमन गरिएको र गोली चलाइएको आरोप लगाए । उनले आन्दोलनका घटनालाई भदौ २४ गते भएको आगजनी तथा अराजकतासँग मात्र जोडेर हेर्न खोजिएको भन्दै असन्तुष्टि जनाए ।

उनका अनुसार, भदौ २३ गते भएको जनधनको क्षति र युवाहरूले दिएको बलिदानलाई ओझेलमा पार्न मिल्दैन। जेनजी आन्दोलनलाई अपमान गर्नु तीन करोड नेपालीकै अपमानसरह हुने उनको भनाइ थियो ।

‘अझै पनि पुराना दलका साथीहरूले विभिन्न किसिमले व्याख्या गरिरहेको देख्दा अचम्म लाग्छ,’ उनले भने, ‘त्यो दिनको इतिहास कसैले फेरेर फेरिँदैन । इतिहास फेर्ने कोसिस नगर्नुस्। अझै समय छ, सुध्रिनुस् ।’

गुरुङले पुरानो सोच र कार्यशैलीबाट नयाँ नेपाल निर्माण सम्भव नहुने बताए । भदौ २३ को आन्दोलन सत्ता प्राप्तिका लागि नभई सुशासनका लागि भएको दाबी गर्दै उनले युवाहरू सुशासनको पक्षमा एकजुट भएको बताए । पुराना राजनीतिक शक्तिहरूले आन्दोलनको मर्म बुझेर इतिहासलाई आफूअनुकूल मोड्ने प्रयास त्याग्नुपर्ने उनको भनाइ थियो ।

1

Scroll to Top