राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् ।
नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को असोज १३ को सिफारिस अनुसार राष्ट्रपति पौडेलले चालु अधिवेशन अन्त्य गरेका हुन् ।
असोज १६ गते शुक्रबार राती १२ः०० बजेदेखि लागू हुने गरी चालु अधिवेशन अन्त्य गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै त्यससम्बन्धी पत्र राष्ट्रपति कार्यालयमा पठाएको हो । संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ ।
संघीय संसद्को चालु अधिवेशन गत वैशाख २८ गतेदेखि सुरु भएको थियो । यस अवधिमा सरकारको नीति तथा कार्यक्रम, चालु आर्थिक वर्षको बजेट तथा बजेटसँग सम्बन्धित विधेयकहरू संसद्बाट पारित भएका छन् ।
यसैगरी, संसद् अधिवेशन नरहेका बेला सरकारले जारी गरेका विभिन्न अध्यादेश स्वीकृत भएपछि तिनलाई प्रतिस्थापन गर्न ल्याइएका विधेयकसमेत पारित भई ऐनमा रूपान्तरित भएका छन् ।

