Banijya News

१५औँ महाधिवेशनपछि नयाँ ऊर्जासहित कांग्रेस अघि बढ्ने शर्माको दाबी

1
1.0K Shares

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन कांग्रेसको नयाँ यात्राको सुरुवात भएको बताएका छन् । महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै शर्माले महाधिवेशनपछि कांग्रेस अझ बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर अघि बढ्ने दाबी गरे ।

८० वर्षको इतिहास बोकेको कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनदेखि विभिन्न राष्ट्रिय संकटमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै शर्माले पार्टीको विगतको योगदानलाई नयाँ पुस्तासँग जोडेर अघि बढ्नुपर्ने बताए । जननायक बीपी कोइरालाको नेतृत्वमा स्थापना भएको कांग्रेसले लोकतन्त्रका लागि गरेको संघर्षलाई वर्तमान पुस्ताले आत्मसात् गर्दै नयाँ राजनीतिक परिवेशअनुसार अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

फागुन २१ गते सम्पन्न निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बहुमतको सरकार गठन भएको र कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको उल्लेख गर्दै शर्माले मुलुकको हितका विषयमा सरकारसँग सहकार्य गर्न कांग्रेस तयार रहेको बताए । राष्ट्रिय महत्वका विषयमा राजनीतिक दलहरूबीच सहमति र सहकार्य आवश्यक रहेको उनले बताए ।

शर्माले जलवायु परिवर्तनका कारण नेपालमा देखिएका चुनौती, मधेस आन्दोलनले उठाएका सवाल तथा जेनेजी आन्दोलनका मागलाई पनि राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने धारणा राखे । युवापुस्ताले उठाएका विषयलाई बेवास्ता गरेर अघि बढ्न नसकिने भन्दै उनले राजनीतिक दलहरूले बदलिँदो सामाजिक र राजनीतिक अपेक्षालाई आत्मसात् गर्नुपर्ने बताए ।

देशभित्र र विदेशमा रहेका नेपालीलाई जोड्ने नीति आवश्यक रहेको उल्लेख गर्दै शर्माले विदेशमा रहेका नेपालीको नागरिकता, लगानी र अधिकारका विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने बताए । विदेशमा रहेका नेपाली नेपालको विकासमा लगानी गर्न इच्छुक रहेको भन्दै उनले उनीहरूको भावना र संविधानले परिकल्पना गरेको नागरिकताको विषयलाई सम्बोधन गर्न कांग्रेस प्रतिबद्ध रहेको बताए ।

 

‘नेपाल दुई वटा छ– नेपाल बाहिरको र नेपालभित्रको नेपाल। यी दुवै नेपाललाई जोड्नुपर्छ,’ शर्माले भने, ‘विदेशमा रहेका नेपालीले नेपालको विकासमा लगानी गर्न चाहेका छन्। उनीहरूको भावना र संविधानले परिकल्पना गरेको नागरिकताको विषयलाई सम्बोधन गर्न कांग्रेस तयार छ ।’

नयाँ सरकार गठन भए पनि सामाजिक सञ्जालमा राजनीतिक तथा सामाजिक असन्तुष्टि र एकअर्काप्रतिको आक्रोश बढिरहेको शर्माले बताए । यस्तो अवस्थामा नेपाली समाजलाई संवाद, सद्भाव र एकताको आवश्यकता रहेको उनको भनाइ थियो। देशको भूगोललाई मात्रै नभई नेपालीको मनलाई समेत जोड्नुपर्ने उनले बताए ।

विशेष महाधिवेशनपछि गगनकुमार थापाको नेतृत्वमा कांग्रेस नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै शर्माले १५औँ महाधिवेशनमा लोकतान्त्रिक आन्दोलनका अग्रजदेखि सहिद परिवार र जेनेजी पुस्तासम्मको सहभागिता रहेको बताए । करिब ३५ हजार प्रतिनिधिमध्ये ठूलो संख्या युवा रहेको उल्लेख गर्दै उनले युवाको सहभागितालाई कांग्रेसको नयाँ ऊर्जा भएको बताए ।

परम्पराको सम्मान गर्दै नयाँ सोच, दृष्टिकोण र ऊर्जाका साथ कांग्रेसलाई अघि बढाउने शर्माले प्रतिबद्धता जनाए । महाधिवेशनले कांग्रेसलाई संगठनात्मक रूपमा थप बलियो बनाउँदै राजनीतिक, आर्थिक तथा सामाजिक रूपान्तरणमा प्रभावकारी भूमिका निर्वाह गर्ने आधार तयार गर्ने उनको भनाइ थियो । ‘यो यात्राको सुरुवात हो । महाधिवेशनपछि बलियो कांग्रेससहित अगाडि आउने छौँ,’ शर्माले भने ।

1

Scroll to Top