गृहमन्त्री सुधन गुरुङ छिमेकी मुलुक भारततर्फ प्रस्थान गरेका छन् । उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् ।
बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) मा सहभागी हुन गृहमन्त्री गुरुङ भारत जान लागेका हुन् ।
सन् १९९७ मा स्थापना भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)ले पहिलोपटक गृहमन्त्रीस्तरीय बैठक आयोजना गर्न लागेको हो ।
बैठकमा विभिन्न ७ वटा देशका गृहमन्त्री सहभागी हुनेछन् । त्यहाँ नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सो बैठकमा सहभागी हुनेछन् ।
यसअघि गृहसचिव तथा राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठकले सिफारिस गरेका बहुआयामिक सुरक्षा मुद्दामा छलफल हुने बताइएको छ । गृहमन्त्रीस्तरीय बैठकअघि गृहसचिवहरूको बैठक बस्नेछ । गृह तथा आन्तरिक मन्त्रालयका वरिष्ठ अधिकारीहरूको बैठकले पनि मन्त्रीस्तरीय छलफललाई सहयोग गर्नेछ ।
भारत भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाह तथा अन्य सदस्य राष्ट्रका गृहमन्त्रीसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ ।


