काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) का सञ्चालक सुरजकृष्ण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार, इस्कोनमा अध्ययनरत बालबालिकाहरूमाथि दुर्व्यवहार गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको हो।
संस्थाकै बालबालिकाहरूले आफूहरूमाथि अभद्र तथा अनैतिक व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएपछि उक्त उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले केही दिनअघि नै श्रेष्ठलाई नियन्त्रणमा लिएर यस घटनाको सम्बन्धमा सुक्ष्म ढंगले अनुसन्धान सुरु गरिसकेको छ। हाल उनीमाथि बालबालिका सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ। संस्थाभित्रै संरक्षणमा रहेका बालबालिकामाथि भएको यस घटनालाई प्रहरीले गम्भीरतापूर्वक लिँदै तथ्य र प्रमाणहरू संकलन गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।


