दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आज असार ९ गते समोमबारदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्ने अनुमति पाएको छ । जसमध्ये कम्पनीले १ सय अंकित मूल्यमा १० लाख ३० हजार ५०० कित्ता सेयर आयोजना प्रभावित गुल्मी जिल्लाको मुसीकोट नगरपालिका, बाग्लुङ जिल्लाको गलकोट नगरपालिका र बाग्लुङ जिल्लाको बडीगाँउ गाँउपालीकाका स्थानीयलाई बिक्री खुला गरेको हो ।
यता, कम्पनीले सर्वसाधारणमा निष्कासन हुने २९ लाख १९ हजार ५०० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात २ लाख ९१ हजार १५० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् । यसमा दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । स्थानीयले यस कम्पनीको आइपीओमा असार २३ गतेसम्म आवेदन दिन पाउनेछन् । यद्दपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा साउन ६ गतेसम्म आवेदन दिन पाउनेछन् । तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने असार २३ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।


