महिला भलिबल टोलीले एभिसी सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका उपाधि हासिल गर्यो । बिहीबार बंगलादेशको राजधानी ढाकास्थित शहीन शुह्रवार्दी इन्डोर रंगशालाको कभर्डहलमा भएको फाइनलमा उपाधि जितिरहँदा नेपालले महिला भलिबलमा इतिहाससमेत रचेको छ । नेपालको लागि महिला भलिबलमा यो ऐतिहासिक सफलता बनेको छ ।
यसअघि सन् २०१४ मा काठमाडौँमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा जितेको रजत पदक नै नेपाली महिला भलिबलको सबैभन्दा उपल्लो उपलब्धि थियो । सन् १९९९, २००६ र २०१६ को दक्षिण एसियाली खेलकुदमा पनि नेपाली महिला टिमले कास्य पदक जितेको थियो । लिग चरणका खेलहरुमा अपराजित रहेको नेपालले फाइनलमा पनि सोही स्तरको खेल प्रदर्शन गरेको थियो । प्रतिद्वन्द्वी माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ को सोझो सेटमा पाखा लगाएपछि नेपाल उपाधिको हकदार बन्यो । नेपाली टिमकी सदस्य प्रतिभा माली प्रतियोगिताकै ‘बेष्ट स्पाइकर’ घोषित भइन् । राउण्ड रोविन लिग प्रणालीमा सञ्चालित अघिल्लो सबै खेलहरुमा नेपालले एकपक्षीय नतिजा निकाल्दै सोझो सेटमा नतिजा आफ्नो पक्षमा पारेको थियो ।
पहिलो खेलमा नेपालले अफगानिस्तानलाई दोहोरो अंकसमेत जोड्न दिएन । दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई पराजित भएको थियो । नेपालसामु आयोजक बंगलादेशले पनि १० अंक पार गर्न सकेन । लिग चरणकै अन्तिम खेलमा माल्दिभ्सलाई पनि नेपालले सोझो सेटमै हराएको थियो ।


