आईसीसी महिला टी–२० विश्वकप–२०२६ को छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ । विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले बिहीबार आगामी वर्षको जनवरी १२ देखि फेब्रुअरी २ सम्म छनोट प्रतियोगिता नेपालमा हुने जनाएको हो ।
महिला क्रिकेटमा यो नेपालमा आयोजना हुने सबैभन्दा ठूलो प्रतियोगिता हो । छनोटमा कुल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा हालसम्म बंगलादेश र आयरल्यान्डसँगै नेपाल, थाइल्यान्ड र अमेरिका गरी तीन टिमको टुंगो लागेको छ । बंगलादेश र आयरल्यान्डले सन् २०२४ को विश्वकपमा खेलेको हुँदा स्वतः ग्लोबल क्वालिफायरमा स्थान बनाएका हुन् ।
नेपाल र थाइल्यान्ड एसिया क्षेत्रीय छनोटबाट ग्लोबल क्वालिफायरमा आएका हुन् । यस्तै, अमेरिकाले अमेरिका क्षेत्रीय छनोट जित्दै ग्लोबल क्वालिफायरसम्मको यात्रा तय गरेको हो ।
बाँकी आठ टोली भने अफ्रिका, युरोप र इस्ट एसिया–प्यासिफिक छनोटबाट आउने आईसीसीले जनाएको छ । आईसीसीका अनुसार, अफ्रिका र युरोपको क्षेत्रीय छनोटबाट समान दुई–दुई र इस्ट एसिया–प्यासिफिक छनोटबाट एक टोली क्लोबल क्वालिफायरमा आउनेछन् ।


