Banijya News

विश्वकप नकआउटका रोचक तीन खेलः ब्राजिल, पाराग्वे र मोरक्को अन्तिम १६ मा

1
1.0K Shares

फिफा विश्वकप २०२६ को नकआउट चरणमा सोमबार सम्पन्न तीन खेलले विश्वका फुटबलप्रेमीहरुलाई अविस्मरणीय रोमाञ्च प्रदान गरेका छन् । असार १४ गते सम्पन्न नकआउट चरणका तीन खेलबाट ब्राजिल, पाराग्वे र मोरक्को अन्तिम १६ मा प्रवेश गर्न सफल भएका छन् ।
सोमबार भएको खेलमा पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले जापानलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्न सफल रह्यो । त्यस्तै, पाराग्वे र मोरक्कोले क्रमशः जर्मनी र नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराउँदै खेल आफ्‌नो पक्षमा पार्न सफल भएका हुन् ।

ब्राजिलको पुनरागमन, जापान स्तब्ध

ह्युस्टन स्टेडियममा सम्पन्न खेलमा जापानले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै २९औँ मिनेटमा काइशु सानोको शानदार गोलमार्फत अग्रता बनाएको थियो । अनुशासित रक्षापंक्ति र तीव्र प्रेसिङका कारण ब्राजिलका स्टार खेलाडीहरू पहिलो हाफभर प्रभावहीन बने ।

दोस्रो हाफमा प्रशिक्षक कार्लो एन्सेलोटीले रणनीति परिवर्तन गर्दै युवा फरवार्ड एन्ड्रिकलाई मैदानमा उतारेपछि ब्राजिलको खेल नै बदलियो । ५६औँ मिनेटमा कासेमिरोले हेडमार्फत बराबरी गोल गरे । त्यसपछि लगातार दबाब बनाएको ब्राजिलले इन्जुरी समयको पाँचौँ मिनेटमा गाब्रिएल मार्टिनेलीको निर्णायक गोलमार्फत २–१ को रोमाञ्चक जित निकाल्यो । यससँगै ब्राजिल लगातार विश्वकपको नकआउट चरण पार गर्ने टिम बन्न सफल भयो ।

पाराग्वेले इतिहास रच्यो, जर्मनी स्तब्ध

यसैगरी, चार पटकको विश्व विजेता जर्मनी पाराग्वेसँग पेनाल्टी सुटआउटमा ४–३ को अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । निर्धारित समय र अतिरिक्त समय १–१ को बराबरीमा सकिएको खेलमा जर्मनीले बलमाथि प्रभुत्व जमाए पनि निर्णायक क्षणमा अवसर सदुपयोग गर्न सकेन । अतिरिक्त समयको अन्त्यतिर जोनाथन टाहले गरेको गोल रद्द भएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

पेनाल्टी सुटआउटमा गोलरक्षक ओरलान्डो गिलले काइ हाभट्र्ज र निक वोल्टेमाडेको प्रहार बचाउँदै पाराग्वेलाई बलियो अवस्थामा पुर्‍याए । अन्तिम निर्णायक पेनाल्टीमा जोसे कानालेले गोल गरेपछि पाराग्वेले विश्वकप इतिहासकै सबैभन्दा ठूलो उपलब्धिमध्ये एक हासिल गर्‍यो । यो हारसँगै जर्मनीको पाँचौँ विश्वकप उपाधिको सपना टुंगिएको छ ।

मोरक्कोको चमत्कार, बाहिरियो नेदरल्यान्ड

यसैगरी, नेदरल्याण्ड र मोरक्कोबीचको खेल पनि रोमाञ्चक बन्न पुग्यो । निर्धारित समय र अतिरिक्त समयको खेल १–१ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । यस क्रममा मोरक्कोले नेदरल्यान्ड्सलाई ३–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भयो ।

नेदरल्यान्डले दोस्रो हाफमा अग्रता बनाए पनि इन्जुरी समयको पहिलो मिनेटमा इस्सा डियोपले शानदार हेडमार्फत बराबरी गोल गर्दै मोरक्कोलाई खेलमा फर्काएका थिए । अतिरिक्त समयमा मोरक्को नै बढी आक्रामक देखिएको थियो भने नेदरल्यान्डका गोलरक्षक बार्ट भेरब्रुगेनले केही उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा टिकाएका थिए ।

तर, पेनाल्टी सुटआउटमा मोरक्कोका गोलरक्षक यासिन बोनुले क्रिसेन्सियो समरभिलको निर्णायक प्रहार बचाएपछि इस्माइल साइबारीले अन्तिम पेनाल्टी गोलमा परिणत गर्दै अफ्रिकी टोलीलाई ऐतिहासिक जित दिलाएका हुन् ।

यी तीन रोमाञ्चक खेलसँगै विश्वकप २०२६ को नकआउट चरण थप रोमाञ्चक बन्न पुगेको छ ।

1

Scroll to Top