Banijya News

गत आर्थिक वर्षमा वीरगञ्ज भन्सारले उठायो पौने दुई खर्ब राजस्व

1
1.2K Shares

भारतसँगको मुख्य सीमानाका वीरगञ्जस्थित भन्सार कार्यालयले गत आर्थिक वर्ष (आव) २०८१/८२ मा पौने २ खर्ब रुपैयाँ राजस्व उठाएको छ । भन्सारले गत आवको साउनदेखि असारसम्म १२ महीनामा १ खर्ब ७५ अर्ब ९१ करोड रुपैयाँ राजस्व उठाएको हो ।

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार भन्सारले अघिल्लो आव २०८०/८१ को तुलनामा १९ अर्ब रुपैयाँभन्दा बढी राजस्व उठाएको हो । भन्सारले उठाएको राजस्व अघिल्लो आवको तुलनामा ११ दशमलव ४९ प्रतिशतले बढी हो । ‘त्यो वेला १ खर्ब ५७ अर्ब ४० करोड रुपैयाँ उठेको थियो’, लामिछानेले भने ।

भन्सारले बितेको आवमा तोकिएको कुल राजस्वको लक्ष्य भने पूरा गर्न सकेन । लक्ष्यको तुलनामा ८० प्रतिशतमात्र राजस्व संकलन भएको भन्सारको तथ्यांकले देखाएको छ ।

भन्सारले बितेको आवमा मालसमानको आयातबाट बढी राजस्व उठाएको छ । आयातमा मूल्यअभिवृद्धि कर सबैभन्दा बढी उठाएको हो । यस्तो कर ७१ अर्ब १० करोड रुपैयाँ उठाएको छ । भन्सारको तथ्यांकअनुसार वर्षभरिमा लक्ष्यको ८७ प्रतिशत मूल्यअभिवृद्धि कर संकलन गरेको छ ।

भन्सार महशुलमात्रै ६५ अर्ब रुपैयाँ उठाएको छ । यो लक्ष्यको ७३ प्रतिशत हो । अन्तःशुल्क लक्ष्यको करीब ६६ प्रतिशत उठेको भन्सार प्रशासक लामिछानेले बताए । पछिल्लो समय सवारीसाधनको आयात घटेकोले अन्तःशुल्क संकलनमा पनि कमी आएको भन्सारका अधिकारीहरू बताउँछन् ।

1

Scroll to Top