जेनजी आन्दोलनपछि सुदूरपश्चिम प्रदेश सरकारको राजस्व संकलन घटेको छ । भदौ २४ गते प्रदेश सरकारका मन्त्रालय र जिल्ला कार्यालयहरूमा आगजनी भई लामो समय ठप्प रहेकोले राजस्व संकलन घटेको हो ।
प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीले जेनजी आन्दोलनपछि यातायात, मालपोत, वन कार्यालयहरू लामो समय बन्द रहेको, कार्यालय खुले पनि सबै प्रकारका सेवा दिन सकिने अवस्था नरहेको र चाडपर्वको विदा रहेकाले कतिपय कार्यालयहरूले संकलन गरेको राजस्व पठाउन बाँकी नै रहेकोले प्रदेशको राजस्व संकलन घटेको बताए । उनले धेरै जस्ता कार्यालयहरूले आन्दोलनको कारण डेटा गुमाएकाले पनि रिकभर हुन समय लागि रहेको जानकारी दिए ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका वन क्षेत्रको राजस्व साउनमा एक करोड ७४ लाख, भदौमा एक करोड २९ लाख र असोज महिनामा सात लाख ५५ हजार रुपैयाँ संकलन भएको छ । सवारी साधनको कर साउनमा ६ करोड ४६ लाख, भदौमा ४ करोड ५७ लाख र असोजमा ६ करोड ९० लाख रुपैयाँ संकलन भएको छ । विभाज्य कोषमा राखिएको वन क्षेत्रको राजस्व नेपाल सरकारले तीनै तहमा बाँडफाँड गर्छ भने प्रदेश विभाज्य कोषमा राखिएको सवारी साधन कर प्रदेश सरकारले आफूसँग ६० प्रतिशत राखेर ४० प्रतिशत प्रदेशमा रहेका स्थानीय तहहरूलाई बाँडफाँड गर्ने गर्छ ।
यसैगरी, संघीय मालपोत कार्यालयहरूले संकलन गरेको घरजग्गा रजिष्ट्रेसन दस्तुर भदौमा ४७ लाख र असोजमा ३९ लाख रुपैयाँ बाँडफाँडपछि प्राप्त भएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयले भदौभन्दा असोजमा बाँडफाँड भई आउने मूल्य अभिवृद्धि करसमेत घटेको जनाएको छ । आन्तरिक राजस्व कार्यालयबाट संकलन भएको मूल्य अभिवृद्धि कर सरकारले भदौंमा ५२ करोड ३५ लाख र असोजमा ४६ करोड ५२ लाख रुपैयाँ बाँडफाँड गरी पठाएको जनाएको छ ।
सरकारले भदौभन्दा असोजमा अन्त:शुल्क बढी पढाएको छ । भदौमा १७ करोड ७३ लाख र असोजमा १८ करोड ३२ लाख रुपैयाँ बाँडफाँड भई प्राप्त गरेको छ । स्थानीय तहमा संकलन हुने र प्रदेशसँग बाँडफाँड हुने मनोञ्जन कर साउनमा एक हजार चार सय रुपैयाँ बाँडफाँड भई प्राप्त भए पनि भदौ र असोजमा सो कर प्राप्त नभएको लेखा नियन्त्रक कार्यालयले जनाएको छ । बाँडफाँड भई प्राप्त हुने विज्ञापन करसमेत भदौ र असोजमा प्राप्त नभएको कार्यालयले जनाएको छ ।


