Banijya News

वार्षिक बजेटजति पुग्यो वैदेशिक व्यापार, व्यापार घाटा साढे १४ खर्ब

1
1.0K Shares

चालु आर्थिक वर्षको १० महिनामा कुल १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार चालु आवको साउनदेखि वैशाख मसान्तसम्म नेपालले जम्मा २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँबराबरको वस्तु निर्यात गरेको छ ।
उक्त अवधिमा १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ । समीक्षा अवधिमा मात्र मुलुकले वैदेशिक व्यापारतर्फ १४ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ घाटा व्यहोरेको छ ।

चालु आवको १० महिनाको आयात र निर्यातको तथ्याङ्क हेर्दा मुलुकको कुल बजेटबराबर पुगेको छ । चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट छुट्याइएको छ । तर, चालु वर्षको १० महिनामा नै कुल व्यापार करिब साढे १९ खर्ब पुग्न लागेको छ । यही अनुपातलाई हेर्ने हो भने चालु आवको अन्त्यसम्ममा वैदेशिक व्यापारले मुलुकको बजेटलाई सजिलै उछिन्ने देखिन्छ ।

अघिल्लो आर्थिक वर्षको १० महिनामा २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँबराबरको वस्तु आयात भएको थियो । उक्त अवधिमा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ घाटा रहेको थियो ।

यस वर्ष आयात र निर्यातको वृद्धि अनुपात समानजस्तै देखिए पनि व्यापार घाटा १४.९२ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ । समीक्षा अवधिमा आयात र निर्यातको अनुपात ६.७९ प्रतिशत रहेको छ भने कुल व्यापारमा आयातको हिस्सा ८७.१७ प्रतिशत र निर्यातको १२.८२ प्रतिशत रहेको छ ।

त्यसो त, चालु आवको वैशाख महिनामा मात्र २ खर्ब २ अर्ब ३९ करोड रुपैयाँको वस्तु आयात भएको छ । यो चैत महिनाको तुलनामा केही बढी हो । भन्सार विभागका अनुसार, चैतमा २ खर्ब १ अर्ब २४ करोड रुपैयाँको वस्तु आयात भएको थियो । यसले लगातार दोस्रो महिना २ खर्बभन्दा बढीको वस्तु आयात भएको देखाउँछ ।

अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण इन्धनको मूल्यवृद्धि हुँदा अन्तर्राष्ट्रिय बजार नै महँगिएको छ । यसको असरबाट नेपाल अछुतो छैन । त्यसैले, आयात कारोबार रकम लगातार दोस्रो महिना २ खर्ब नाघेको हो ।

चालु आवको साउन महिनामा १ खर्ब ४३ अर्बको वस्तु आया भएको थियो भने भदौमा १ खर्ब ६२ अर्ब, असोजमा १ खर्ब ६२ अर्ब ९२ करोड रुपैयाँको वस्तु आयात भएको थियो । त्यस्तै, कात्तिकमा १ खर्ब ४१ अर्ब, मंसिरमा १ खर्ब ५७ अर्ब र पुसमा १ खर्ब ७३ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको थियो । चालु आवको माघमा १ खर्ब ८४ अर्ब र फागुन महिनामा १ खर्ब ६६ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको विभागको विवरणमा उल्लेख छ ।

1

Scroll to Top