Banijya News

सात सय ७४ विद्युतीय गाडी सशस्त्रको नियन्त्रणमा

1
1.0K Shares

नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका ७ सय ७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिइएको छ । भन्सार छलेर ल्याइएको आशंकामा सशस्त्र प्रहरी बल नेपालले ती विद्युतीय गाडी नियन्त्रणमा लिएको हो ।

मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गए राती सशस्त्र प्रहरी बलले ती गाडीहरु नियन्त्रणमा लिएको बताइएको छ । डिआईजी विष्णु प्रसाद भट्टका अनुसार, गाडी नियन्त्रणमा लिनको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत, नं. २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

बजेटमा परिवर्तन गरिएको भन्सार दर छल्न विभिन्न कम्पनीले भन्सार कर्मचारीसँग मिलेर पुरानो मितिको प्रज्ञापनपत्र बनाएर भन्सार छलेको आशंका गरिएको छ । गाडीहरू विभिन्न जिल्लामा लैजान लागेको सूचना पाएपछि नेपाल प्रहरीसँगको समन्वयमा सशस्त्रले ती गाडी नियन्त्रणमा लिएको हो ।

यसैगरी, नुवाकोटको पासाङल्हामु सडकखण्डबाट समेत २ वटा गाडी नियन्त्रणमा लिइएको छ । नम्बरप्लेट बिनाका नियन्त्रणमा लिइएका ती गाडीहरु आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइने बताइएको छ । शंका लागेर नियन्त्रणमा लिइएका ती गाडीका कागजात भन्सारसँगको समन्वयमा चेकजाँच गरिने बताइएको छ । कागजातमा कुनै त्रुटि नदेखिए फिर्ता गर्ने तर त्रुटि देखिएमा भन्सार कार्यालयबाट कानुनअनुसार हुने प्रहरीले जनाएको छ ।

1

Scroll to Top