कुनै पनि पेट्रोलपम्पले अब उचित कारणबिना सञ्चालन बन्द गरी कृत्रिम अभाव सिर्जना गरे कडा कारबाहीको सामना गर्नुपर्ने भएको छ ।
नेपाल आयल निगमका अनुसार, अब उचित कारणबिना पेट्रोलपम्प बन्द गरी इन्धन अभाव सिर्जना गर्ने व्यवसायीलाई १० लाख रुपैयाँसम्म जरिवाना र १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गर्न सकिने व्यवस्था गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलपम्प सञ्चालनमा कडाइ गर्ने कानुनी व्यवस्था गरेको हो । नेपाल आयल निगम लिमिटेडको सञ्चालक समितिले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको हो । संशोधित विनियमावलीको दफा २९ घ (१) मा ‘बिक्रेताले नोजल सुख्खा (ड्राई) गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने’ भन्ने व्यवस्था थपिएको छ ।
यो निर्णय पेट्रोलियम व्यवसायीहरूले मूल्य घट्ने अनुमान गर्दै मंगलबार निगमका डिपोबाट इन्धन नउठाएपछि बुधबार देशभर इन्धन आपूर्तिमा देखिएको असहज अवस्थापछि गरिएको हो । घटनापछि कारबाहीका लागि स्पष्ट कानुनी आधार नभेटिएपछि मन्त्री यादवले तत्काल नयाँ कानुनी व्यवस्था गर्न निर्देशन दिएकी थिइन् ।
संशोधित व्यवस्थाअनुसार पहिलो पटक कसुर गरे ३ लाख रुपैयाँ जरिवानासहित ५ दिन डिपोबाट इन्धन आपूर्ति रोक्का गरिनेछ । दोस्रो पटक दोहोरिए ६ लाख रुपैयाँ जरिवानासहित १० दिन आपूर्ति बन्द गरिनेछ भने तेस्रो पटक उल्लंघन गरे १० लाख रुपैयाँ जरिवानासहित १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गरिने व्यवस्था गरिएको छ ।


