त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।
आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।
घाइतेको उद्धार गरी अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ । उनको परिचय खुलेको छैन भने आत्मदाह प्रयास गर्नुको कारण पनि खुलेको छैन ।
उक्त आत्मदाह घटनालाई लिएर नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले आज बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रमुख सचेतक दुलालले राहदानी प्राप्त गर्न भएको ढिलाइका कारण आजित भएर एक अज्ञात पुरुषले आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याई आत्मदाहको प्रयास गरेको प्रारम्भिक जानकारी आएको संसदलाई जानकारी गराएका हुन् ।
उनले जनताको घरदैलोमै राहदानी पुर्याउने उद्घोष गरेको सरकारले सेवा प्रवाहमा ढिलाइ गरेकै कारण सेवाग्राहीले यस्तो आत्मघाती कदम चाल्नुपरेको देखिएको दाबी गरे । उनले एक पीडित सेवाग्राहीले आफ्नो शरीरमा आगो लगाइरहँदा सरकार कहाँ छ ? कति नागरिकले आत्मदाह गरेपछि मात्र राहदानी घरघरमा पुग्ने हो ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।


