पछिल्लो समयमा अधिकांशका हातहातमा स्मार्ट फोन देख्न सकिन्छ । मोबाइल फोनको प्रयोग बढेसँगै मोबाइल आयातमा पनि वृद्धि हुँदै गएको छ । तर, पछिल्लो तथ्यांकले मोबाइल आयातको संख्या विगतको भन्दा कम देखिए पनि आयात मूल्य भने हालसम्मकै उच्च हुन पुगेको छ ।
पछिल्लो एक वर्षमा नेपालीले करिब ६७ अर्ब १७ करोड रुपैयाँको मोबाइल खरिद गरेका छन् । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा भित्रिएका २२ लाख ६७ हजार ४१९ वटा मोबाइल सेटको कुल औसत बजार मूल्य ६८ अर्ब रुपैयाँ नाघेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको गत आवको तथ्यांकअनुसार साढे २२ लाख मोबाइल आयात हुँदाको भन्सार मूल्य ४८ अर्ब ६९ करोड ३४ लाख ७६ हजार रुपैयाँ रहेको छ । उक्त मूल्यका मोबाइल भित्रिँदा राज्यले ९ अर्ब ८ करोड २३ लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ । यो तथ्यांकले नेपाली बजारमा पछिल्लो समय सस्तो सेटभन्दा महँगा र प्रिमियम स्मार्टफोनको माग बढेको देखाउँछ ।
तथ्यांकअनुसार, नेपालमा पछिल्लो एक वर्षमा भित्रिएका मोबाइल सेटको औसत बजार मूल्य ३० हजार रुपैयाँ पर्न आउँछ । त्यसो त १० हजारमा पाइने स्मार्टफोनदेखि साढे २ लाख पर्ने आइफोनसम्म नेपालीले प्रयोग गरिरहेका छन् । नेपाल भित्रिएका महँगा सस्ता सबै सेटको औसत मूल्य भने ३० हजार रुपैयाँ हुने देखिन्छ ।
मोबाइल व्यवसायीका अनुसार, हाल बजारमा बिक्री हुने सबैभन्दा बढी मोबाइल सेटहरु २५ देखि ३५ हजार रुपैयाँकै हुने गर्दछन् । नेपाल भित्रिएका मोबाइलको आयात मूल्यमा भ्याट र अन्तशुल्क लाग्ने र त्यसपछि मात्रै बजारको मूल्य तय हुन्छ । व्यवसायीका अनुसार नेपालमा आयात भएका मोबाइलमा भन्सार मूल्य आयातकर्ता, होलसेल, खुद्रा हुँदै उपभोक्ताको हातमा पुगुदान थप ४० प्रतिशत शुल्क जोडिन पुग्छ ।
सरकारले मोबाइल आयात गर्दा १३ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर (भ्याट) र ५ प्रतिशतका दरले अन्तःशुल्क लिन्छ । व्यवसायीले मूल्य अभिवृद्धि करमा तिर्नुपर्ने शून्य दशमलव ६५ प्रतिशत भ्याटका कारण एकमुष्ट रूपमा मोबाइल आयात गरेबापत सरकारलाई १८.६५ प्रतिशत राजस्व तिर्दै आएका छन् ।
व्यवसायीले बिक्री गरेर आम उपभोक्ताले खरिद गर्दासम्म आयात मूल्यमा थप ४० प्रतिशतसम्म मूल्य जोडिने गरेको मोबाइल आयातकर्ता संघको भनाइ छ । बजारमा थपिने मूल्य ४८ अर्बको मोबाइल आयात हुँदा १९ अर्ब ४७ करोड रुपैयाँ थप शुल्क जोडिने भएकोले ६८ अर्ब रुपैयाँ नाघेको हो ।
त्यसो त नेपालमा भित्रिएको मोबाइल सेट संख्या हेर्ने हो भने कोरोना महामारीपछिको आव २०७८/७९ मा सबैभन्दा धेरै (एकै वर्ष ५५ लाख ८६ हजार वटा) मोबाइल भित्रिएको थियो । तर, त्यसताका ३८ अर्ब भन्सार मूल्यको मात्रै मोबाइल आएको थियो । त्यतिबेला स्मार्टफोन मात्रै नभएर सामान्य फिचरका बारफोनको संख्या बढी हुने गरेको थियो ।
पछिल्लो समय सामान्य फिचरका फोनको सट्टा पनि स्मार्टफोन नै आउने गरेका छन् । जसका कारण मोबाइलको संख्या विगतको भन्दा कम देखिएको भए पनि मूल्यका कारण बजार हुने खपत धेरै देखिएको हो ।
स्मार्टफोनको आयात बढ्नुलाई डिजिटल नेपालको यात्रामा सकारात्मक मानिए पनि ठूलो मात्रामा वैदेशिक मुद्रा बाहिरिनु अर्थतन्त्रका लागि चुनौती बनेको छ । त्यसैले, नेपालमै मोबाइल एसेम्बलिङ प्लान्टहरूलाई प्रोत्साहन दिने राज्यको नीति बन्न सके ठूलो व्यापार घाटा कम गर्न सकिने सरोकारवालाहरू बताउँछन् ।


