कुमारी बैंक लिमिटेडले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि आवश्यक ई–ट्यागको बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत उपलब्ध गराएको छ ।
ई–ट्याग विद्युतीय टोल भुक्तानी प्रणाली हो । यसको प्रयोगबाट सवारीसाधनले टोल बुथमा नरोकिई छिटो, सहज र नगदरहित रूपमा शुल्क भुक्तानी गर्न सक्नेछन् ।
सवारीसाधनमा ई–ट्याग स्टिकर टाँसेपछि सुरुङमार्ग प्रयोग गर्दा सम्बन्धित खाताबाट स्वचालित रूपमा टोल शुल्क कट्टा हुनेछ । यसले टोल बुथमा हुने भीडभाड र लामो लाइनको समस्या कम गर्नुका साथै यात्राको समयसमेत बचत गर्ने बैंकको विश्वास छ ।
बैंकका अनुसार, ग्राहकले सवारीसाधनको ब्लुबुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो र मोबाइल नम्बर लिएर नजिकैको कुमारी बैंकको शाखाबाट ई–ट्याग प्राप्त गर्न सक्नेछन् ।
यससम्बन्धी थप जानकारी बैंकको वेबसाइटबाट लिन सकिनेछ । साथै, वेबसाइटमार्फत नै अनलाइन ई–ट्याग दर्ता प्रक्रियासमेत पूरा गर्न सकिने बैंकले जनाएको छ ।
डिजिटल भुक्तानी तथा आधुनिक बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै आएको कुमारी बैंकले सुरुङमार्गमा सहज र छिटो यात्रा गर्न चाहने सवारीधनीलाई ई–ट्याग जडान गर्न आग्रह गरेको छ ।


