लोकेन्द्र श्रेष्ठ “ईश्वर”
भक्तपुर क्यान्सर अस्पतालको यात्रा केवल एउटा स्वास्थ्य संस्थाको विकास कथा मात्र होइन, यो समर्पण, संघर्ष, दूरदृष्टि र मानव सेवामा समर्पित अनेक व्यक्तित्वहरूको साझा इतिहास पनि हो। त्यही यात्रामा मैले नजिकबाट अनुभूति गरेका प्रेरणादायी व्यक्तित्वहरूमध्ये एक हुन् रोटेरियन मणि ध्वज जोशी।
रोटरी क्लब अफ काठमाण्डौ मिड–टाउनका रोटेरियन मणिजी केवल रोटरीकर्मी मात्र होइन, विचार, व्यवहार, संयमता र संस्थागत प्रतिबद्धताले भरिएको व्यक्तित्व हुनुहुन्थ्यो। उहाँसँग सँगै काम गर्ने अवसर पाउनु मेरो जीवनको महत्वपूर्ण अनुभवमध्ये एक हो।
मैले भक्तपुर क्यान्सर अस्पतालको अध्यक्षको जिम्मेवारी सम्हालिरहेको समयमा उहाँ व्यवस्थापन बोर्ड सदस्यका रूपमा सक्रिय हुनुहुन्थ्यो। त्यो समय अस्पताल आफ्नो विकासको संवेदनशील मोडमा थियो। सीमित स्रोत, आर्थिक अभाव, बढ्दो बिरामीको चाप र आधुनिक उपचार सेवाको आवश्यकता बीच अस्पताललाई कसरी अगाडि बढाउने भन्ने ठूलो चुनौती थियो।
भक्तपुर क्यान्सर अस्पतालमा पहिलो रेडियसन मेसिन “कोबाल्ट–६०” ल्याउने ऐतिहासिक अभियानमा पनि पाँच वटा रोटरी क्लबहरूको महत्वपूर्ण योगदान रहेको थियो। तीमध्ये रोटरी क्लब अफ काठमाण्डौ मिड–टाउनको भूमिका विशेष रूपमा उल्लेखनीय रह्यो।
त्यो केवल एउटा मेसिन ल्याउने काम मात्र थिएन, नेपालमा क्यान्सर उपचारलाई नयाँ स्तरमा पुर्याउने ऐतिहासिक कदम थियो।
उक्त रोटरी क्लबमा आबद्ध रोटेरियन मणि ध्वज जोशीजी अस्पताल व्यवस्थापन बोर्डका प्रतिनिधि सदस्यका रूपमा सक्रिय रहनुहुन्थ्यो। संस्थाप्रतिको उहाँको समर्पण, दूरदृष्टि र सकारात्मक सोचले अस्पतालको विकास यात्रामा महत्वपूर्ण योगदान पुर्याएको थियो।
अस्पताललाई आवश्यक आधुनिक उपकरणहरू रोटरीमार्फत उपलब्ध गराउन उहाँले महत्वपूर्ण भूमिका खेल्नुभयो। आधुनिक मोडलको अपरेशन थियटरका लागि आवश्यक मेसिन ल्याउनेदेखि लिएर अस्पतालको भौतिक पूर्वाधार सुधारसम्म उहाँको सोच र सक्रियता सधैं सकारात्मक रह्यो। बिरामी, ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरूलाई सहज आवतजावत होस् भनेर अस्पतालमा र्याम्प निर्माण गर्ने विषयमा पनि उहाँले विशेष पहल गर्नुभएको थियो।
त्यसैगरी, केही साथीहरूको अवरोध र जटिल परिस्थितिका बीच पनि अस्पतालमा अत्याधुनिक लिनाक एक्सीलेटर मेसिन ल्याउने प्रक्रियामा उहाँले महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गर्नुभयो। किस्ताबन्दी मा मेसिन ल्याउने जटिल व्यवस्थापनमा समेत उहाँको समन्वय, अडान र निरन्तर प्रयास अत्यन्त प्रशंसनीय रह्यो। यो कदमले नेपालमा क्यान्सर उपचार सेवालाई अझ आधुनिक र प्रभावकारी बनाउन ठूलो योगदान पुर्यायो।
धेरैलाई थाहा नहुन सक्छ—अस्पतालको लोगो तथा छापको डिजाइन अवधारणामा पनि मणिजीको विशेष योगदान रहेको थियो। उहाँ केवल समाजसेवी मात्र नभई, उत्कृष्ट आर्ट तथा डिजाइन चेतना भएको सिर्जनशील डिजाइनर पनि हुनुहुन्थ्यो।
अस्पतालको पहिचान झल्किने लोगो, त्यसको भाव, सन्देश र कलात्मक प्रस्तुतीकरणमा उहाँले दिएको सोच आज पनि स्मरणीय छ।
त्यो समय बोर्डभित्र कहिलेकाहीँ विचारमा असहमति, भावनात्मक प्रतिक्रिया र निर्णय प्रक्रियालाई जटिल बनाउने अवस्थाहरू पनि सिर्जना हुन्थे। तर मणिजीको विशेषता नै त्यही थियो—उहाँ कहिल्यै उत्तेजनामा प्रतिक्रिया दिनुहुन्नथ्यो। शान्त, संयमित र बौद्धिक शैलीमा सबै पक्षलाई सुन्ने, बुझ्ने र अन्ततः सहज रूपमा सहमतिमा ल्याउने उहाँको क्षमता वास्तवमै प्रशंसनीय थियो।
पछि अस्पतालमाथि विभिन्न प्रकारका हस्तक्षेपका प्रयासहरू भए। केही कर्मचारी, पूर्वकर्मचारी, स्थानीय राजनीतिक शक्तिहरू र नगरपालिका सम्मिलित भएर संस्थामाथि दबाब सिर्जना गर्ने अवस्थासमेत आयो। त्यो समय अस्पतालको स्वायत्तता र भविष्य नै चुनौतीमा परेको महसुस हुन्थ्यो। तर त्यस्तो कठिन समयमा पनि मणिजी न्याय र सत्यको पक्षमा दृढतापूर्वक उभिनुभयो।
विशेषगरी स्वास्थ्य मन्त्रालय र भक्तपुर नगरपालिका विरुद्धको कानुनी संघर्षमा, जब सम्मानित सर्वोच्च अदालतबाट हाम्रो पक्षमा फैसला आयो, त्यो क्षण केवल कानुनी विजय मात्र थिएन—त्यो संस्थाको आत्मसम्मान, सत्य र न्यायको जित थियो।
त्यो कठिन यात्रामा मणिजीको अडिग साथ, नैतिक समर्थन र संस्थाप्रतिको निष्ठा आज पनि म सम्मानका साथ सम्झन्छु।
उहाँमा एउटा विशेष गुण थियो—संस्था भन्दा माथि आफूलाई कहिल्यै नराख्ने। उहाँ पदका लागि होइन, उद्देश्यका लागि काम गर्नुहुन्थ्यो। सायद त्यसैले उहाँसँग बिताएका धेरै क्षणहरू आज पनि मेरो स्मृतिमा गहिरो रूपमा बसेका छन्।
भक्तपुर क्यान्सर अस्पताल आज जहाँ आइपुगेको छ, त्यो कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव भएको होइन। यस यात्रामा धेरै साथीहरू, चिकित्सकहरू, समाजसेवीहरू, रोटेरियनहरू र संस्थाप्रति निस्वार्थ समर्पित व्यक्तिहरूको उत्तिकै महत्वपूर्ण योगदान रहेको छ।
यो लेख केवल एउटा सम्झना हो। मेरो “भक्तपुर क्यान्सर अस्पताल डायरी” मा यस्ता धेरै साथीहरूको योगदान, संघर्ष र समर्पणका कथाहरू अझै बिस्तारै समेटिँदै जानेछन्।
मेरो भक्तपुर क्यान्सर अस्पताल डायरीबाट… ✍️
(सामाजिक अभियन्ता तथा नेपाल अर्बुद रोग निवारण संस्थाका नि-वर्तमान अध्यक्ष)


