Banijya News

नेपाल भ्रमण गर्न ७१ देशका प्रतिनिधिलाई मन्त्री भट्टराईको निम्तो

1
1.2K Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संरक्षण क्षेत्रमा लागेका ७१ देशका प्रतिनिधिलाई नेपालमा मनाउन लागिएको भ्रमण वर्षको निम्तो आफ्नो देशमा पुर्‍याइदिन आग्रह गरेका छन् ।

नवौं विश्व रेन्जर सम्मेलनको शनिबार सौराहामा समापन गर्दै उनले आफ्ना परिवार, इष्टमित्र र साथीभाइलाई भ्रमण वर्षको निम्तो पुर्‍याइदिन उनले आग्रह गरेका हुन् ।

नेपाल जैविक, प्राकृतिक र सांस्कृतिक दृष्टिले असाध्यै धनी देश भएको सम्मेलनका क्रममा सहभागीले जानकारी पाएकोमा आफू विश्वस्त भएको भन्दै मन्त्री भट्टराईले यहाँको पर्यटकीय महत्वलाई विश्वभर पुर्‍याउन भ्रमण वर्ष फलदायी हुने बताए ।

नेपालको भूवनोट तराईदेखि हिमालसम्म फैलिएको उनको भनाइ थियो । संरक्षण क्षेत्रमा काम गर्नेहरुकै कारण आज विश्वमा वन र वन्यजन्तु संरक्षण हुन सकेको भन्दै उनले सबै सहभागी संरक्षणकर्मीप्रति आभार प्रकट गरे ।

विश्वका विभिन्न देशबाट यहाँ भेला भएर गरिएको सो सम्मेलन संरक्षण क्षेत्रमा फलदायी हुने कुरामा आफू विश्वस्त भएको मन्त्री भट्टराईको भनाइ थियो । समुदायमा आधारित भएर गरिने संरक्षण कार्यमा नेपाल उदाहरणीय रहेको उनले बताए ।

सो अवसरमा अन्तर्राष्ट्रिय रेन्जर महासंघ (आइआरएफ) का नवनियुक्त अध्यक्ष क्रिस गिल्सले सम्मेलनमा भएका छलफल र निचोडलाई आत्मसात गर्दै महासंघलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले सम्मेलनका लागि नेपाल रोजेकामा सबैलाई धन्यवाद दिँदै सफलतापूर्वक सम्मेलन सम्पन्न भएकोमा खुसी व्यक्त गरे ।

सम्मेलनले चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणमा विश्वभर सहकार्य गरेर पृथ्वीको उपहार वन्यजन्तु भावी पुस्ताका लागि संरक्षण गर्न जरुरी भएको भन्दै चितवन घोषणापत्र २०१९ जारी गरेको छ ।

घोषणापत्रमा रेन्जरका हकहित, रेन्जर र समुदायबीचको सम्बन्ध, संरक्षणमा आदिवासी रैथाने समुदायको भूमिका, रेन्जरको क्षमता विकास, संरक्षणमा प्रविधि, महिला रेन्जरको भूमिका र भावी दिनमा रेन्जरले गर्नुपर्ने कार्य समावेश गरिएको छ ।

चितवनको पर्यटकीय नगरी सौराहामा कात्तिक २६ गते सुरु भएको सम्मेलनमा नेपालसहित ७२ देशका ५ सय २६ प्रतिनिधि सहभागी थिए । (रासस)

1

Scroll to Top