आइतवार ०८ मंसिर २०७६
साहसिक पदयात्रा क्षेत्र कञ्चनजङ्घा स्वदेशी तथा विदेशी पर्यटक आउने क्रम वर्षेनी बढ्दो छ । पर्यटक बढेपनि पथप्रर्दशक नहँुदा पर्यटकले समस्या भोग्दै आएका थिए । हिमाल जाने पदमार्गमा हिमखम्बा राखिएपछि पर्यटक र पथप्रर्दशकलाई आवागमनमा सहज भएको छ । पदमार्गका विभिन्न ठाउँमा हिमखम्बा र साङ्केतिक खम्बा राखिएसँगै हिउँ परेपछि बाटो भुल्ने समस्याबाट पर्यटक र पथप्रर्दशक राहत मिलेको हो । हिउँले बाटो छोपेपछि पर्यटकलाई यात्रामा समस्या हुँदै आएको थियो । आधार शिविर प्रवेशद्वार घुन्सादेखि माथिल्लो क्षेत्रमा खम्बाहरु गाडिएका छन् । यात्रा सहज बनाउने उद्देश्यसहित कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्अन्तर्गत समृद्ध पहाडले २०० थान हिमखम्बा र १०० थान साङ्केतिक खम्बा गाडिएको छ । उत्तरी आधार शिविर जाने पदमार्ग खम्वाचेन, लोनाक र पाङ्पेका साथै दक्षिणी आधार शिविर जाने सेलेले, चेइराम, ओक्तानसम्म नै खम्बा गाडिएको हो । पाङ्पेमा उत्तरी र ओक्तान दक्षिणी आधार शिविर हुन् । उत्तरतर्फ हिमखम्बा र दक्षिणतर्फ साङ्केतिक खम्बा गाखिएको छ ।


