बुधवार १८ मंसिर२०७६, काठमाडौं
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष (२०२०) लाई सफल पार्न आवश्यक सहयोग गरिदिनका लागि नेपालस्थित ३१ देशका राजदूत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरूलाई आग्रह गरेका छन् । मन्त्री भट्टराईले राजदूत र वैदशिक साझेदार संस्थाका प्रमुखहरूलाई बुधबार मन्त्रालयमै आमन्त्रण गरेर भने भ्रमण बर्ष सफल बनाउन अनुरोध गरेका हुन् । भ्रमण वर्ष (२०२०) सफल पार्नमा नेपालस्थित राजदूतहरूको सहयोग महत्वपूर्ण हुन भन्दै मन्त्री भट्टराईले भ्रमण वर्षको बारेमा विश्वभरि सूचना तथा सन्देश प्रवाहका लागि अनुरोध गरे । ‘नेपाल भ्रमण वर्ष (२०२०) को विषयमा यहाँहरूका देशमा सकेसम्म बढी सन्देश प्रवाह गरी आफ्ना नागरिक पठाइदिनका लागि अनुरोध गरेका हुन् । मन्त्री भट्टराईले अहिल विदेशी पर्यटकहरूले नेपालमा प्रतिदिन ४४ डलर खर्च गरिरहेको उल्लेख गर्दै अब ८० डलर खर्च गराउने र वार्षिक ३५ लाख पर्यटक नेपालमा भित्र्याउने लक्ष्य राखिएको जानकारी दिए । उनले आगामी २०२० मा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल र २०२१ मा पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने जानकारी दिए । त्यस्तै निजगढ अन्तराष्ट्रिय विमानस्थलको पनि प्रारिम्भक काम सकिएको र लगानीको आवश्यक मोडलको विषयमा लगानी बोर्डले काम गरिरहेको जानकारी दिए
उनले नेपाल २०७२ सालको महाभूकम्पले गरेका असर र प्रभावको पीडाबाट विस्तारै देश माथि उठेको बताएका छन् । मन्त्री भट्टराईले महाभुकम्पबाट भत्किएका नेपालका ८ सय ९१ सम्पदामध्ये ३ सय ८७ को निर्माण सम्पन्न भएको र बाँकी निर्माणको क्रममा रहेका जानकारी दिएका छन् । बाँकी दुई वर्षमा भत्किएका सबै सम्पदाहरूको निर्माण सम्पन्न गरिने लक्ष्य रहेको भन्दै साथ र सहयोगको आह्वान गरे। उनले अब आर्थिक र सामाजिक क्षेत्रको असमानतालाई अन्त्य गर्दै राष्ट्रिय पुँजीको विकास गरेर समतामूलक समाज निर्माणको बाटोमा देशलाई अघि बढाइने बताए । उनले अहिले पर्यटनबाट नेपालको कुल ग्राहस्थ उत्पादनमा ३ प्रतिशत योगदान रहेको जानकारी दिदै १५ औं पञ्चवर्षीय योजना सम्पन्न हुँदासम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य रहेको बताए ।


