Banijya News

कर्णालीमा नौ महिनामा भित्रिए चार लाख बढी पर्यटक

1
1.3K Shares

कर्णाली प्रदेशमा नौ महिनामा चार लाख ९६ हजार १३६ पर्यटक भित्रिएका छन् । ०८१ साउनदेखि चैतसम्म उक्त संख्यामा पर्यटक भित्रिएका प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको पर्यटन शाखाको तथ्यांक छ । ०८१ चैतयताको तथ्यांक भने शाखासँग छैन ।

उक्त अवधिमा कर्णालीमा भित्रिएका पर्यटकमा बाह्य (विदेशी) तीन हजार ६३६ छन् । आन्तरिक पर्यटकको संख्या चार लाख ९२ हजार ५०० छ । पर्यटन शाखाका अनुसार, मुगुको राराताल अवलोकनका निम्ति आएका पर्यटकमा नौ हजार ८८९ आन्तरिक र २०९ विदेशी छन् । भेरी नदीमा र्‍याफ्टिङ गरेका पर्यटकमा तीन हजार ७१४ आन्तरिक र दुई हजार ८६४ विदेशी छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद पार्कमा एक लाख २० हजार आन्तरिक पर्यटक पुगेका छन् । यहाँ विदेशी पर्यटकको आगमन शून्य छ ।

वीरेन्द्रनगरस्थित दुई प्रमुख पर्यटकीयस्थल बुलबुले ताल र काँक्रेविहारमा तीन लाख ५१ हजार ६७६ आन्तरिक र १०८ बाह्य पर्यटक पुगेका छन् । उक्त अवधिमा दुई हजार ५६४ आन्तरिक र ३९० बाह्य पर्यटकले डोल्पाको शे–फोक्सुण्डो ताल अवलोकन गरेका छन् । सुर्खेतसँग जोडिएको दैलेख गुराँसेमा चार हजार ६५७ आन्तरिक र ६५ विदेशी पर्यटक पुगेका तथ्यांक छ ।

1

Scroll to Top