२०८१ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले पर्यटन क्षेत्रमा प्रवाह गरेको कर्जा २०८० पुस मसान्तको तुलनामा २५.८४ प्रतिशतले बढेको छ । २०८१ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले पर्यटन क्षेत्रमा २ खर्ब ५५ अर्ब ६० करोड पुगेको छ । २०८० पुस मसान्तसम्म बैंकहरुले कुल २ खर्ब ३ अर्ब १२ करोड मात्र पर्यटन क्षेत्रमा कर्जा प्रवाह गरेका थिए । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ०.३७ प्रतिशतले घटेको थियो ।
सेवा क्षेत्रमा प्रवाह भएको कुल कर्जामध्ये पर्यटन क्षेत्रमा प्रवाहित कर्जाको अंश २०८१ पुस मसान्तमा ७.५९ प्रतिशत रहेको छ । अघिल्लो पुससम्म यस्तो कर्जाको हिस्सा ७.१३ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार २०८१ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सेवा क्षेत्रमा प्रवाह गरेको कर्जा २०८० पुस मसान्तको तुलनामा १८.१६ प्रतिशतले बढेर ३३ खर्ब ६७ अर्ब ५८ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ५.६६ प्रतिशतले घटेर २८ खर्ब ४९ अर्ब ९६ करोड पुगेको थियो।
कुल कर्जामध्ये सेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश २०८१ पुस मसान्तमा ६१.९९ प्रतिशत रहेको छ । सेवा क्षेत्रमा प्रवाह भएको कर्जामध्ये थोक तथा खुद्रा विक्रेता उपक्षेत्रमा सबैभन्दा बढी (३१.१८ प्रतिशत) कर्जा प्रवाह भएको छ भने सबैभन्दा कम (२.२५ प्रतिशत) शिक्षा उपक्षेत्रमा कर्जा प्रवाह भएको छ ।


