Banijya News

पर्यटक आउने क्रम बढे पनि ४३.९३ प्रतिशतमा झर्यो होटलहरुको अकुपेन्सी रेट

1
1.3K Shares

पछिल्लो समय नेपालमा पर्यटक आउने क्रम बढे पनि होटलहरुको औसत क्षमता उपयोग (अकुपेन्सी रेट) घटेकोे छ । नेपाल राष्ट्र बैंकको एक अध्ययन अनुसार अघिल्लो आर्थिक वर्ष साउनदेखि पुषसम्मको तुलनामा गत आर्थिक वर्षमा होटलहरुको औसत क्षमता उपयोग (अकुपेन्सी रेट) घटेको छ।

राष्ट्र बैंकका अनुसार २०८१ साउनदेखि पुस मसान्तसम्ममा अध्ययनमा समेटिएका होटलहरूको औसत क्षमता उपयोग (अकुपेन्सी रेट) ४३.९३ प्रतिशत रहेको छ । २०८० साउनदेखि पुस मसान्तसम्ममा यस्तो क्षमता उपयोग औसतमा ४५.३० प्रतिशत रहेको थियो।

जबकी अघिल्लो आर्थिक वर्षको तुलनामा भन्दा गत आर्थिक वर्षको ६ महिनाको अवधिमा पर्यटन आगमनमा बढोत्तरी भएको छ । आर्थिक वर्ष २०८१-८२ को साउनदेखि पुससम्ममा ५ लाख ७९ हजार ९ सय ४३ जना पर्यटक आगमन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ५ लाख ५९ हजार ७ सय ६९ जना पर्यटकको आगमन भएको थियो ।

तर, नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार पर्यटक आगमन बढेपनि अघिल्लो आर्थिक वर्ष साउनदेखि पुषसम्मको तुलनामा होटलहरुको औसत क्षमता (अकुपेन्सी रेट) उपयोग भने घटेको पाइएको हो ।

समीक्षा अवधिमा कोशी प्रदेशको होटलहरूको औसत क्षमता उपयोग सबैभन्दा धेरै ५९.२८ प्रतिशत रहेको छ भने सबैभन्दा कम लुम्बिनी प्रदेशको अकुपेन्सी रेट ३१.९२ प्रतिशत रहेको छ । तर कोशी प्रदेशको अकुपेन्सी रेट अघिल्लो वर्षको भन्दा कमजोर हो । अघिल्लो वर्ष त्यस्तो रेट ६७.४९ प्रतिशतसम्म रहेको थियो । लुम्बिनी प्रदेशमा अघिल्लो आवको साउनदेखि पुससम्म अकुपेन्सी रेट २६.८४ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा मधेस प्रदेशको अकुपेन्सी रेट घटेको छ । बागमती प्रदेशको बढेको छ । यस्तै गण्डकी प्रदेशको घटेको छ भने कर्णाली प्रदेशको बढेको छ । सुदूरपश्चिम प्रदेशमा होटलहरुको औसत क्षमता उपभोग (अकुपेन्सी रेट) घटेको छ।

1

Scroll to Top