नेपालको पर्वतीय पर्यटन क्षेत्रमा यस वर्षको वसन्तकालीन हिमाल आरोहण ऐतिहासिक बन्ने भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहीहरूको सङ्ख्याले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको हो । पर्यटन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, यस सिजनमा सगरमाथासहित ३० वटा विभिन्न हिमाल आरोहणका लागि कुल १ हजार १३४ जनाले अनुमति लिएका छन् । ती आरोही १३५ वटा विभिन्न टोलीमार्फत हिमाल चढ्न जाने तयारीमा रहेका छन् ।
अनुमति लिनेमध्ये ८६० जना पुरुष र २७४ जना महिला रहेका छन्, जसले नेपालको पर्वतारोहणमा पर्यटनप्रति अन्तर्राष्ट्रिय आकर्षण लगातार बढिरहेको देखाउँछ । विभागका अनुसार, यस वर्ष सगरमाथा आरोहणका लागि मात्रै ४९२ जनाले अनुमति लिएका छन्, जुन अहिलेसम्मकै उच्च सङ्ख्या हो । तीमध्ये ३८७ जना पुरुष र १०५ जना महिला रहेका छन् । सगरमाथा आरोहणका लागि ५० वटा छुट्टाछुट्टै अन्तर्राष्ट्रिय टोली परिचालन भएका छन् । विभागका अनुसार, यसअघि कुनै पनि वर्ष यति धेरै आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिएनन् । यसपटकको उत्साहले नेपालको पर्वतीय पर्यटन क्षेत्र महामारीपछिको पुनरुत्थानसँगै नयाँ उचाइमा पुगेको देखाएको छ ।
हिमाल आरोहण गर्नेहरुको सङ्ख्या बढेसँगै सरकारले उल्लेखनीय राजस्वसमेत सङ्कलन गरेको छ । विभागका अनुसार, हालसम्म हिमाल आरोहण रोयल्टीबाट कुल १ अर्ब २४ करोड ४१ लाख रुपैयाँ अर्थात् ८३ लाख ३५ हजार ९७१ अमेरिकी डलर राजस्व उठेको छ । यसमध्ये सगरमाथाबाट मात्रै ७१ लाख ९७ हजार ४१ अमेरिकी डलर रोयल्टी सङ्कलन भएको छ ।
मध्यपूर्वको द्वन्द्वका कारण पर्यटक आगमनमा कमी आएको भए पनि पर्वतारोहणमा भने राम्रो आकर्षण देखिएको छ । पर्वतीय पर्यटन नेपालको विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतका रूपमा स्थापित हुँदै गएको सन्दर्भमा यस वर्षको राजस्वलाई निकै महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
सगरमाथाबाहेक अन्य हिमालहरूमा पनि उल्लेख्य आकर्षण देखिएको विभागले जनाएको छ । ल्होत्से आरोहणका लागि १ सय २० जनाले अनुमति लिएका छन् भने अमादब्लमका लागि १ सय ११ जना सहभागी भएका छन् । त्यस्तै, मकालु आरोहणका लागि ७२ जना, नुप्त्सेका लागि ५६ जना तथा हिमलुङ हिमालका लागि ४६ जनाले अनुमति लिएका छन् । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाका लागि ३६ जना, धौलागिरीका लागि ३० जना तथा अन्नपूर्ण प्रथमका लागि २७ जना आरोहीले अनुमति प्राप्त गरेका छन् ।
यस वर्ष विश्वका ७९ देशका नागरिकले नेपालका हिमाल आरोहणका लागि अनुमति लिएका छन् । समग्रमा चीनबाट सबैभन्दा धेरै १ सय ४९ जना आरोही नेपाल आएका छन् भने संयुक्त राज्य अमेरिकाबाट १४८ जना र भारतबाट ९५ जना सहभागी भएका छन् । सगरमाथा आरोहणका लागि मात्रै ५५ देशका नागरिकले अनुमति लिएको विभागले जनाएको छ । सगरमाथामा चीनका १०९ जना र अमेरिकाका ७६ जना आरोही अग्रस्थानमा रहेका छन् । यसले नेपाल विश्व पर्वतारोहण गन्तव्यका रूपमा अझै पनि अन्तर्राष्ट्रिय समुदायको केन्द्रमा रहेको पुष्टि गरेको छ ।
नेपाली आरोहीहरूको सहभागिता पनि यस वर्ष उल्लेखनीय रहेको छ । विभागका अनुसार, विभिन्न हिमाल आरोहणका लागि १९ जना नेपालीले अनुमति लिएका छन्, जसमा १६ जना पुरुष र ३ जना महिला रहेका छन् । सगरमाथा आरोहणका लागि १२ जना नेपालीले अनुमति लिएका छन् । तीमध्ये ९ जना पुरुष र ३ जना महिला रहेका छन् । नेपालबाट अनुमति लिने सङ्ख्या तुलनात्मक रूपमा कम भए पनि नेपाली पर्वतारोहीहरूको सक्रिय उपस्थिति हिमाल पर्यटन क्षेत्रमा निरन्तर कायम रहेको विभागले जनाएको छ ।
आरोहीहरूको सुरक्षालाई प्राथमिकतामा राखेर विभागले प्राविधिक तयारीलाई पनि तीव्र बनाएको छ । विभागका निर्देशक हिमाल गौतमका अनुसार, वैशाख २५ गते साँझ ७ः१५ बजे रोप फिक्सिङ टोलीले सगरमाथाको चौथो शिविर साउथ कोल (७,९०६ मिटर) सम्म सफलतापूर्वक डोरी टाँगेर बाटो खुला गरिसकेको छ । साउथ कोलसम्म बाटो खुलेसँगै अब आरोहीहरू शिखरतर्फ अन्तिम चरणको यात्रामा अघि बढ्न सक्ने भएका छन् । रोप फिक्सिङ कार्यलाई सगरमाथा आरोहणको सबैभन्दा महत्वपूर्ण सुरक्षा तयारीका रूपमा लिइन्छ, जसले आरोहीहरूलाई जोखिमपूर्ण क्षेत्रमा सुरक्षित मार्ग प्रदान गर्दछ । यस वर्षको उच्च आरोहण गतिविधिले नेपालको पर्यटन उद्योगमा ठूलो आर्थिक योगदान पुग्ने अपेक्षा गरिएको छ ।


