Banijya News

नाट्टा नेतृत्वमा त्रिपक्षीय भिडन्त, कसले मार्ला बाजी ?

1
1.0K Shares

सन् १९६६ मा स्थापित टुर तथा ट्राभल व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नयाँ नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। आगामी शुक्रबार नाट्टाको ५९औं वार्षिक साधारणसभा तथा २५औं कार्यसमिति निर्वाचन हुँदैछ। सन् २०२६–२०२८ कार्यकालका लागि हुने निर्वाचनमा जिस्वाँ तुलाधर श्रेष्ठ, युबिका भण्डारी र भरतजंग पाण्डेको नेतृत्वमा तीन छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा छन्। हाल नाट्टाको अध्यक्ष कुमारमणि थपलिया छन्। तीनै समूहले पर्यटनलाई अर्थतन्त्रको मुख्य आधार बनाउने, पर्यटन व्यवसायीका समस्या समाधान गर्ने र नाट्टालाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखेका छन्।

सुरक्षित व्यवसाय–समृद्ध पर्यटन : जिस्वाँ तुलाधर श्रेष्ठ

नाट्टाकी वर्तमान वरिष्ठ उपाध्यक्ष जिस्वाँ तुलाधर श्रेष्ठको नेतृत्वमा रहेको प्यानल ‘सबल नेतृत्व, सुरक्षित व्यवसाय र समृद्ध पर्यटन’ नारासहित चुनावमा छ। समूहले नाट्टालाई सबल, समावेशी, पारदर्शी, प्रविधिमैत्री र व्यवसायमुखी संस्था बनाउने प्रतिबद्धता जनाएको छ। नयाँ पुस्ताका उद्यमीलाई प्रोत्साहन, अन्तर्राष्ट्रिय बजार विस्तार, हवाई टिकटिङ प्रणाली सुधार, भ्याट तथा हवाई टिकटसम्बन्धी समस्या समाधान र पर्यटन पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ।

पर्यटकीय बसपार्क तथा अन्तरसहरी यातायात विस्तार, स्मार्ट नाट्टा, अनधिकृत पर्यटन गतिविधि नियन्त्रण, प्रादेशिक पर्यटन विकास र हवाई सञ्जाल सुदृढीकरण पनि प्यानलका एजेन्डा हुन्।

श्रेष्ठको प्यानलमा वरिष्ठ उपाध्यक्षमा विष्णु पाण्डे, उपाध्यक्षमा प्रज्ञा पाठक शर्मा, महासचिवमा सुशील पन्त, सचिवमा रमेश घिमिरे, कोषाध्यक्षमा कृष्णप्रसाद ढकाल र सहकोषाध्यक्षमा डा. विमला दाहाल उम्मेदवार छन्।

‘पर्यटन उठे, नेपाल उठ्छ’ : युबिका भण्डारी

नाट्टाकी वर्तमान महासचिव युबिका भण्डारी ‘पर्यटन उठे, नेपाल उठ्छ’ नारासहित प्रतिस्पर्धामा छिन्। दुई दशकभन्दा बढी पर्यटन अनुभव भएकी भण्डारीको प्यानलले उपत्यका बाहिरका व्यवसायीलाई समान प्राथमिकता दिने, नाट्टालाई प्रविधिमैत्री बनाउने, सरकारसँग नीतिगत समन्वय बलियो पार्ने र व्यवसायीको क्षमता विकास गर्ने प्रतिबद्धता जनाएको छ। यस प्यानलको वरिष्ठ उपाध्यक्षमा वरुण मेहता, उपाध्यक्षमा ढकनाथ ढकाल, महासचिवमा कृष्णप्रसाद ढकाल, सचिवमा श्रद्धा जोशी, कोषाध्यक्षमा रमाकुमारी प्याकुरेल र सहकोषाध्यक्षमा विदुर खतिवडा उम्मेदवार छन्।

‘नाट्टा रूपान्तरण’ : भरतजंग पाण्डे

एभरेस्ट मिराकल ट्राभल एन्ड टुर्सका प्रबन्ध निर्देशक भरतजंग पाण्डेले ‘सशक्त नाट्टा, समृद्ध पर्यटन सदस्यसँगै सदस्यका लागि’ नारासहित चुनावी अभियान अघि बढाएका छन्। उनको प्यानलले सुशासन, पारदर्शिता, सदस्य सहभागिता र संस्थागत रूपान्तरणलाई जोड दिएको छ। अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन, हवाई टिकट तथा एयरलाइन्ससम्बन्धी समस्या समाधान, दूतावास तथा कूटनीतिक समन्वय, व्यवसायीको क्षमता विकास र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारलाई प्राथमिकता दिइएको छ। डिजिटल नाट्टा, इनबाउन्ड तथा बहुराष्ट्रिय टुर व्यवस्थापन, दिगो पर्यटन विकास र सदस्य हित संरक्षण पनि प्यानलका प्रमुख एजेन्डा हुन्।

यस समूहको वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्षमा सविता केसी भट्टराई, महासचिवमा राजकुमार देवकोटा, सचिवमा रमेश पराजुली, कोषाध्यक्षमा दिकी शेर्पा र सहकोषाध्यक्षमा जीवन कोइराला उम्मेदवार छन्। यसरी नाट्टाको आगामी नेतृत्वका लागि तीनै प्यानलले पर्यटन व्यवसायलाई थप व्यवस्थित, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धी बनाउने प्रतिबद्धता जनाएका छन्। निर्वाचनले नाट्टाको आगामी दुई वर्षको नेतृत्वसँगै पर्यटन व्यवसायीका प्राथमिकता र संस्थाको भावी दिशासमेत तय गर्नेछ।

1

Scroll to Top