Banijya News

जलवायु जोखिमअनुकूल पर्यटन सुरक्षा मापदण्ड बनाउन विज्ञको सुझाव

1
1.0K Shares

जलवायु परिवर्तनका कारण मौसमी जोखिम बढ्दै गएको भन्दै नेपालमा पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्नुपर्नेमा जलवायु विज्ञ डा. ङमिन्द्र दाहालले जोड दिएका छन् ।

आइतबार विश्व पर्यटन दिवस–२०२६ को अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै दाहालले पर्यटन पूर्वाधार विकास गर्दा जलवायुजन्य जोखिमको आकलनलाई अनिवार्य रूपमा समेट्नुपर्ने बताएका हुन् । बदलिँदो मौसम र बढ्दो चरम मौसमी घटनालाई ध्यानमा राखेर पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड नयाँ ढंगले निर्धारण गर्नुपर्ने उनको भनाइ छ ।

उनले जुनसुकै मौसममा सुरक्षित रहने स्थान पहिचान गरी ठूला पर्यटन पूर्वाधार विकास गर्नुपर्ने बताए । विशेषगरी मनसुनका समयमा हुने बाढी, पहिरो, अत्यधिक वर्षा र क्लाउडबर्स्टजस्ता घटनाको जोखिमलाई पर्यटन योजना निर्माणकै चरणमा समेट्नुपर्ने उनले बताए ।

दाहालका अनुसार पछिल्लो समय मौसम प्रणालीमा परिवर्तन देखिए पनि वैज्ञानिक पूर्वानुमान गर्ने क्षमता भने पहिलेको तुलनामा बढेको छ । त्यसैले उपलब्ध वैज्ञानिक सूचना र पूर्वानुमानको प्रभावकारी उपयोग गरी स्थानीय स्तरमा पूर्वतयारी गर्न सकिने अवस्था रहेको उनले बताए ।

स्थानीय क्षेत्रमा छोटो समयमा अत्यधिक वर्षा हुने क्लाउडबर्स्टजस्ता घटनाले ठूलो क्षति पुर्‍याउन सक्ने भएकाले त्यस्ता जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना प्रणाली र आपत्कालीन पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्ने उनको सुझाव छ ।

नेपालको मनसुन पर्यटनलाई समेत पुनःपरिकल्पना गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । मनसुनमा पर्यटकीय गतिविधि सञ्चालन हुने स्थान, पूर्वाधारको प्रकृति र सुरक्षा व्यवस्थाबारे नयाँ दृष्टिकोण आवश्यक रहेको उनको भनाइ छ ।

हिमालबाट बगेर आउने नदीका किनारमा रहेका बस्ती तथा पर्यटकीय क्षेत्र पनि बाढी र अन्य जलवायुजन्य विपद्को जोखिममा रहेको उनले उल्लेख गरे । नदी किनारमा पर्यटकीय क्षेत्र विकास गर्ने क्रममा जोखिमको पुनर्मूल्यांकन नगरे भविष्यमा क्षति बढ्न सक्ने उनको चेतावनी छ ।

परम्परागत सुरक्षा मापदण्डले पछिल्लो समय देखिन थालेका चरम जलवायुजन्य विपद् सामना गर्न पर्याप्त नहुने दाहालले बताए । त्यसैले, जोखिमयुक्त क्षेत्रको नयाँ रेखांकन गर्दै स्थायी तथा गतिशील सुरक्षा मापदण्ड लागू गर्नुपर्नेमा उनले जोड दिए ।

उनका अनुसार जलवायु परिवर्तनको प्रभाव हिमाली क्षेत्रमा मात्र सीमित छैन । मध्य पहाड र तराईका क्षेत्रमा समेत बाढी, डुबान, अत्यधिक वर्षा तथा अन्य मौसमी जोखिम बढ्दै गएकाले पर्यटन योजना बनाउँदा सबै भौगोलिक क्षेत्रको जोखिमलाई समेट्न आवश्यक छ ।

उपलब्ध जलवायुसम्बन्धी सूचना, वैज्ञानिक ज्ञान तथा पूर्वानुमान क्षमताको उपयोग गर्दै सुरक्षित पर्यटन विकासतर्फ सरकारले प्राथमिकता दिनुपर्ने दाहालको भनाइ छ ।

1

Scroll to Top