कोरोना रोकथाम, नियन्त्रण तथा उपचारको व्यवस्था मिलाउन प्रदेश १ सरकारले स्थानीय तहलाई रकम उपलब्ध गराएको छ । सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनको लागि स्थानीय तह, जिल्ला अस्पताल, प्रशासन लगायतलाई आवश्यक रकम उपलब्ध गराएको हो ।
प्रदेशका मुख्यमन्त्री शेरधन राईका अनुसार स्थानीय तहहरुको आवश्यकता र माग बमोजिम प्रदेश सरकारले आवश्यक रकम उपलब्ध गराएको हो । यसक्रममा प्रदेश सरकारले विभिन्न पालिका तथा अस्पतालहरुलाई एक करोड १० लाख रकम पठाएको हो । प्रदेश सरकारले उदयपुर अस्पताललाई १५ लाख रुपैया उपलब्ध गराएको छ ।
सुनसरी जिल्लाको क्वारेन्टिन, आइसोलेसन र होल्डिङ्ग सेन्टरको व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीलाई १० लाख र प्रदेश प्रहरी कार्यालय परिसर भित्रको आइसोलेशन व्यवस्थापनका लागि प्रदेश प्रहरी कार्यालयलाई १० लाख रकम प्रदेश सरकारले कोरोना जनसुरक्षा कोषबाट उपलब्ध गराएको हो । त्यस्तै उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १० लाख छ । त्यस्तै, प्रदेश सरकराले उपलब्ध गराएको रकममा मोरंगका सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिकालाई समान १० रुपैया उपलब्ध गराएको छ ।
त्यसैगरि, धनपालथान गाउँपालिका, जहदा र कटहरी गाउँपालिकालाई पनि समान ५ लाख रुपैया पठाएको छ । यो रकम आइसोलेसन केन्द्र स्थापना र सञ्चालनका लागि खर्च गर्न पाइने छ । यसरी पठाएकोमा ईलाम अस्पताललाई १० लाख, झुम्का कारागारलाई १० लाख रकम पठाएको प्रदेश सरकारले जनाएको छ । त्यस्तै झापाको गौरीगञ्ज र कमल गाउँपालिकालाई समान ५ लाख रकम प्रदेश सरकारले पठाएको छ ।


