गणेश थापा, क्यालिफोर्निया, २८ असोज २०७७।
नोवेल कोरोना भाइरसको संक्रमणबाट संयुक्त राज्य अमेरिकामा ठूलो संख्यामा मानिसहरू प्रभावित भएका छन् । देशभर फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त बनिरहेको अमेरिकामा संक्रमितको संख्या ८० लाख नाघेको छ । गएका दुई महिना केही कमी देखिएको भाइरसको संक्रमण दर पछिल्ला केही दिनयता दैनिक ५० हजारको हाराहारीमा पुगेको तथ्यांकले देखाएको छ ।यसैगरी मृतकको संख्या समेत दुई लाख २० हजार माथि पुगेको छ ।
गत फागुनबाट कोरोना भाइरसको सक्रिय संक्रमण देखिएयता अमेरिकामा आठ महिनाको अवधिमा सो संख्यामा मानिसको ज्यान गएको हो । कोभिड-१९ सम्बन्धी निरन्तर अभिलेख अपडेट गर्दै आइरहेको न्युजब्रेकका अनुसार कोरोना भाइरसको संक्रमणका कारण विश्वको सवैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा वितेको २४ घण्टाको अवधिमा ७ सय ७२ जनाको मृत्यु भएको छभने ५० हजार बढी व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
गत जुलाईमा अमेरिकामा कोरोना संक्रमितको संख्या दैनिक ७७ हजारसम्म पुगेकोमा त्यसपछिको झण्डै दुई महिना सो संख्यामा निकै ह्रास आई आधाआधीमा झरेको थियो । तर, पछिल्ला दिनहरूमा संक्रमितको संख्यामा केही बृद्धि भई दैनिक करीव ५० हजार पुगेको छ ।
कोरोना संक्रमणका कारण प्रत्येक दिन ठूलो संख्यामा मानिसहरूले ज्यान गुमाउनुपरेको अमेरिकामा विगत आठ सातायता मृतकको संख्यामा भने उलेख्य मात्रामा कमी आई दैनिक हजार/ पॉचसयको हराहारीमा झरेको छ ।प्राप्त जानकारी अनुसार कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा यो मितिसम्ममा ३२ लाख ६० हजार मानिस संक्रमणमुक्त भई नियमित जीवनमा फर्किसकेका छन् भने अझैपनि निकै ठूलो संक्रमित संख्या भाइरससंगको कडा संघर्षमा सामेल छ ।
यता यस महामारीमा परी ज्यान गुमाउने संख्या मध्ये ५० वर्षमाथिको उमेर समूह अधिक छ भने ३० वर्षभन्दा कम उमेरका मानिसहरू न्यून मात्रामा रहेको तथ्यांकले औंल्याएको छ । उपलब्ध अभिलेख अनुसार कोरोना भाइरसको संक्रमण फैलिएका अमेरिकाका ५० वटै राज्यहरू मध्ये सवैभन्दा बढी मानवीय क्षति खेप्नुपरेको न्युयोर्कमा अहिले संक्रमित तथा मृतकको संख्या न्यून छ ।
यहॉ हालसम्म करीव ३३ हजार ३ सय मानिसको मृत्यु भएको छभने ४ लाख ८२ हजार मानिस संक्रमित छन् । न्युयोर्क नेपालीहरूको बाक्लो बसोबास भएको क्षेत्र समेत हो ।कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म अमेरिकामा १७ जना नेपालीहरूको ज्यान गइसकेको छभने सयौंको संख्यामा संक्रमित रहेको यहॉका विभिन्न सामाजिक संघसंस्थाहरूले उल्लेख गरेका छन् ।
पछिल्लो समय क्यालिफोर्नियामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढेर करीव १६ हजार ६ सय माथि पुगेको छभने ८ लाख ६० हजार बढीमा संक्रमण देखिएको छ । हाल अन्य राज्यभन्दा क्यालिफोर्नियामा कोरोना संक्रमितको संख्या बढी छ । कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म संसारभर झण्डै ११ लाख मानिसको मृत्यु भएको छभने संक्रमितको संख्या समेत ३ करोड ८३ लाख नाघेको छ ।
अमेरिकामा हालका दिनहरूमा कोरोना संक्रमण दरमा केही बृद्धि हुनुमा आगामी नोभेम्वर ३ मा नयॉ राष्ट्रपति चयनका लागि हुनगइरहेको निर्वाचनको प्रचारप्रसार तथा दलीय अभियानलाई समेत कतिपयले कारक तत्त्वको रूपमा लिएका छन् । चुनावी मैदानमा उत्रेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेन बीच निकै कडा प्रतिस्पर्धा हुने अड्कलबाजी गर्न थालिएको छ ।
कोरोना संक्रमण भएलगत्तै केहीदिनको अस्पताल बसाईपछि ह्वाइटहाउस फर्केका राष्ट्रपति ट्रम्पले आफू कोरोना विरोधी भएको भन्दै मंगलवार पेन्सिलवेनिया राज्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुकासाथै आफ्नो चुनावी अभियानलाई पुन: संचालन गरेका छन् ।


