काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टीको १४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
विराटनगर विमानस्थलमा सामेबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले उक्त घोषणा गरेकी हुन्। महिला सभापति हुनुपर्ने कार्यकर्ताको माग एवं चाहनालाई ध्यानमा राखी आफूले सभापतिमा उम्मेद्वारी दिन लागेको उनले बताइन् ।
सभापतिको तयरीका लागि आफू पूर्वी नेपालको भ्रमणमा आएको उनको भनाइ थियो । मुलुकको वर्तमान राजनीतिक अवस्थाका कारण ‘अर्ली इलेक्सन’को सम्भावना बढ्दै गएको नेतृ कोइरालाले बताइन् ।
मुलुकका सबै संवैधानिक अंगले निष्पक्ष कार्य गर्नुपर्नेमा उनले जोड दिइन्। ‘लोकतन्त्रमा जनताको आस्था र विश्वासको केन्द्रको रुपमा रहेको अदालत स्वतन्त्र र निष्पक्ष हुनुपर्छ,’ उनले भनिन् ।
हालको गठबन्धन दलहरुको सिद्धान्त र विचार नमिल्ने भएकाले कोहीसँग पनि कांग्रेसले आगामी निर्वाचनमा तालमेल गर्न नहुने उनले बताइन् ।
गठबन्धनमा सहभागी राजनीतिक दलले लोकतन्त्रको संरक्षणका लागि महत्त्वपूर्ण भूमिका खेल्नु आवश्यक रहेको उनको भनाइ थियो।


