Banijya News

गत आवमा २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको धितोपत्र कारोबार

4 Shares

अर्थतन्त्रका केही क्षेत्र सुस्त रहेको बेला गएको आर्थिक वर्ष २०८१/८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा भने ऐतिहासिक रेकर्ड कायम भएको छ । बजारका अन्य परिसूचकमा पनि यो आर्थिक वर्षमा उल्लेख्य सुधार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जको विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा सात खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँ बराबरको धितोपत्रको कारोबार भएकोमा आर्थिक वर्ष २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार रकम आर्थिक वर्ष २०८०/८१ को तुलनामा एक सय ८९ दशमलव २३ प्रतिशतले बढी हो । यसअघि आव २०७७/७८ मा सबैभन्दा धेरै १४ खर्ब ५४ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको थियो ।

त्यसैगरी २०८१ को असार मसान्तमा ३५ खर्ब ५३ अर्ब ६७ करोड रुपैयाँ रहेको बजार पुँजीकरण २०८२ असार मसान्तमा ३१ दशमलव शून्य पाँच प्रतिशतले वृद्धि भई ४६ खर्ब ५६ अर्ब ९८ करोड रुपैयाँमा पुगेको छ ।

आर्थिक वर्ष २०८१/८२ को अन्तसम्ममा सूचीकृत कम्पनीको सङ्ख्या दुई सय ७२ पुगेको छ । त्यो आर्थिक वर्षमा मर्जर तथा एक्विजिसनका कारण तीन कम्पनी सूचीकरणबाट हटेका छन् ।त्यसैगरी प्रथम सार्वजनिक निष्कासनमार्फत चारवटा कम्पनी थपिएका छन् ।

प्रथम निष्कासनमार्फत तीन करोड ६५ लाख कित्ता सेयर, थप निष्कासनमार्फत ११ लाख २० हजार कित्ता शेयर, सरकारबाट थप गरिएको तथा स्थानीयलाई वितरण गरिएको चार करोड ३२ लाख ५८ कित्ता सेयर, सामूहिक लगानी कोषका ३७ करोड ८१ लाख एकाइ र संस्थागत ऋणपत्र ८३ लाख कित्ता गरी जम्मा ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन् ।

Scroll to Top