Banijya News

बैंकहरुको निक्षेप संकलन साढे १२ प्रतिशतले बढ्यो

1
1.2K Shares

पछिल्लो एक आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन साढे १२ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा कर्जा लगानी पनि ८.४ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत आर्थिक वर्षमा अघिल्लो सोही अवधिको तुलनामा १२.६ प्रतिशतले निक्षेप बढेको हो । केन्द्रीय बैंकको तथ्यांक अनुसार २०८२ को असार मसान्तसम्ममा बैंकिङ क्षेत्रमा अघिल्लो आवको भन्दा ८ खर्ब ११ अर्ब ४९ करोड रुपैयाँले निक्षेप बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १३ प्रतिशत अर्थात् ७ खर्ब ४२ अर्ब ३७ करोड रुपैयाँले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमध्ये चल्ती खातामा ७.१ प्रतिशत, बचतमा ३६.८ प्रतिशत र मुद्दती निक्षेपमा ४८.३ प्रतिशत हिस्सा रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ५.८ प्रतिशत, ३०.३ प्रतिशत र ५६.४ प्रतिशत रहेको थियो । २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.१ प्रतिशत रहेको छ । २०८१ असार मसान्तमा यस्तो निक्षेपको अंश ३६.२ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार आव २०८१/०८२मा बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रमा प्रवाह गरेको कर्जा ८.४ प्रतिशत अर्थात ४ खर्ब २३ अर्ब ७३ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा ५.८ प्रतिशत अर्थात् २ खर्ब ७६ अर्ब ९४ करोड रुपैयाँले बढेको थियो । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेको थियो । समीक्षा वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ८.६ प्रतिशतले, विकास बैंकहरूको ६.१ प्रतिशतले र फाइनान्स कम्पनीहरूको ८.४ प्रतिशतले बढेको छ ।

२०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये ६४.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.५ प्रतिशत कर्जा चालू सम्पत्ति अर्थात कृषि तथा गैरकृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । अघिल्लो आवको अन्तिमसम्ममा यस्तो अनुपात क्रमशः ६६.५ प्रतिशत र १३.२ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाहरूको औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ७.९ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.५ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.४ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १२.८ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले घटेको छ ।

गत आवमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित आवधिक कर्जा ७.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.९ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ५६.२ प्रतिशतले, ट्रष्ट रिसिट अर्थात् आयात कर्जा ५१.१ प्रतिशतले, हायर पर्चेज कर्जा ३.७ प्रतिशतले र डिमान्ड तथा चालू पुँजी कर्जा १३.२ प्रतिशतले बढेको छ  । यस अवधिमा ओभरड्राफ्ट कर्जा भने १०.४ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

1

Scroll to Top