Banijya News

अन्तरराष्ट्रिय परामर्शदाताबाट बैंकको कर्जा गुणस्तर परीक्षण हुने, क-कसको हुन्छ लेखा परीक्षण ?

1
1.3K Shares

अन्तरराष्ट्रिय परामर्शदाताबाट वाणिज्य बैंकहरूले प्रवाह गरेको ६० प्रतिशतभन्दा बढी कर्जा तथा लगानीको अन्तरराष्ट्रिय परामर्शदाताबाट गुणस्तर परीक्षण हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले बढी कर्जा तथा लगानी गर्ने १० ओटा वाणिज्य बैंकहरूको कर्जाको गुणस्तर परीक्षण गर्न बिहीवार बंगलादेशी परामर्शदाता कम्पनी हौलादार युनुस एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टस्सँग सम्झौता गरेको हो । सन् २०२५ को डिसेम्बर अन्तिमसम्म काम सक्ने गरी सम्झौता गरिएको राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका कार्यकारी निर्देशन रोशनकुमार सिग्देलले जानकारी दिए । ‘डिसेम्बरभित्र काम सक्ने गरी सम्झौता भएको छ,’ उनले भने । ‘बीचमा दशैं, तिहारलगायत पर्वका कारण ढिलाइ भए केही समय थप हुन सक्छ ।’

राष्ट्र बैंकको तथ्यांकअनुसार २०८२ असारसम्ममा वाणिज्य बैंकहरूले ४९ खर्ब ६० अर्ब रुपैयाँ कर्जा तथा लगानी गरेका छन् । बढी कर्जा तथा लगानी गर्ने बैंकहरूको परीक्षण गर्दा ३० खर्ब ९४ अर्ब रुपैयाँ परीक्षणको दायरामा समेटिनेछ । यो कुल कर्जाको ६२ दशमलव ३८ प्रतिशत हो ।

ग्लोबल आईएमई, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य, कुमारी, लक्ष्मी सन्‌राइज, हिमालयन, एनएमबि, प्रभु र एन.आई.सी. एशियाको कर्जा तथा लगानीको परीक्षण हुनेछ ।

राष्ट्र बैंकले प्राविधिक तथा आर्थिक दुवै मूल्यांकनमा उच्च अंक ल्याएको आधारमा हौलादार युनुससँग कर्जा परीक्षणका लागि मूल्य अभिवृद्धि करबाहेक ६२ लाख ५४ हजार ९१२ रुपैयाँ र २ लाख ७१ हजार ६७० अमेरिकी डलरमा सम्झौता गरेको हो ।

अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) ले नेपाललाई विस्तारित कर्जा सुविधा उपलब्ध गराउनुअघि १० ठूला वाणिज्य बैंकहरूको कर्जाको गुणस्तर परीक्षण गर्नुपर्ने शर्त राखेको थियो । त्यसैअनुसार राष्ट्र बैंकले अन्तरराष्ट्रिय परामर्शदाता कम्पनीमार्फत परीक्षण प्रक्रिया अघि बढाएको हो ।

आईएमएफले पनि आफनो प्रतिवेदनमा देशको वित्तीय क्षेत्रमा बढ्दो जोखिमप्रति चिन्ता व्यक्त गर्दै कर्जाको गुणस्तर परीक्षणको आवश्यकता औंल्याउँदै आएको छ । प्रतिवेदनमा बैंकहरूले कर्जा वर्गीकरणमा उदारता अपनाएको, प्रोभिजन कम राखिएको र जोखिम व्यवस्थापन प्रणाली कमजोर रहेको उल्लेख गरेको थियो ।

राष्ट्र बैंकले दोस्रोपटक खुला गरेको बोलपत्र प्रक्रियामा विभिन्न अन्तरराष्ट्रिय तथा नेपाली परामर्शदाता कम्पनीहरूले प्रस्ताव पेश गरेका थिए ।

राष्ट्र बैंकले दोस्रोपटक खुला गरेको बोलपत्रमा प्रस्ताव पेश गर्ने हौलादार युनुससहित नेपाली परामर्शदाता कम्पनी सुवेदी एन्ड एशोसिएट्सको नेतृत्वमा भारतीय कम्पनी मेहेरा गोयल एन्ड कम्पनी र जेकेएसएस एन्ड एशोसिएट्स, नेपालको बीके अग्रवाल एन्ड कम्पनी सहायक राखी भारतको एसआर बाट्लिबोई एन्ड एशोसिएट्स, श्रीलंकाको डेलोइट पार्टनर्स, भारतको केपीएमजी एस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिसेस र भारतकै एमएसकेए एन्ड एशोसिएट्स संक्षिप्त सूचीमा परेका थिए । पहिलोपटकको बोलपत्र प्रक्रियामा पाँच प्रस्ताव संक्षिप्त सूचीमा परे पनि आर्थिक प्रस्ताव निर्धारित बजेटभन्दा अधिक भएपछि राष्ट्र बैंकले प्रक्रिया रद्द गर्दै दोस्रोपटक प्रस्ताव आह्वान गरेको थियो ।

मुद्राकोषसँगको सहमतिअनुसार २०२४ अप्रिल अन्त्यबाट परीक्षण शुरु गरी २०२४ डिसेम्बरसम्म सक्ने र २०२५ फेब्रुअरीदेखि सुधार कार्ययोजना लागू गर्ने योजना थियो । तर परामर्शदाता छनोटमा ढिलाइ भएपछि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र राष्ट्र बैंकका तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले २०२५ डिसेम्बरसम्म परीक्षण कार्य सम्पन्न गर्ने प्रतिबद्धता पत्र आईएमएफमा पठाएका छन् ।

सम्झौताअनुसार कर्जा गुणस्तर परीक्षणका क्रममा बैंकहरूको कर्जा नीति र प्रक्रिया, कर्जाको वर्गीकरण, धितो मूल्यांकन, प्रोभिजनिङ अभ्यास तथा नियामकीय परिपालना अवस्थाको समग्र मूल्यांकन हुनेछ ।

1

Scroll to Top