वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा अत्यावश्यक उपभोग्य वस्तुहरूको पर्याप्त उपलब्धता रहेको जनाउँदै उपभोक्ता र व्यवसायीहरूलाई आवश्यकताभन्दा बढी खरिद र सञ्चय नगर्न आग्रह गरेको छ।
विभागले माग, आपूर्ति र मूल्यमा असर पार्ने गरी वस्तु सञ्चित गर्ने कार्यले बजारमा अस्थिरता निम्त्याउन सक्ने भन्दै यस्तो गतिविधि रोक्न सबै पक्षलाई अनुरोध गरेको हो।
“बजारमा कुनै पनि उपभोग्य वस्तुको अभाव छैन। उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र विक्रेताहरूलाई माग–आपूर्तिको सन्तुलन कायम राख्न र मूल्यवृद्धि रोक्न वस्तु सञ्चित नगर्न अनुरोध गर्छौं,” विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। साथै, उपभोक्ताहरूलाई पनि आवश्यकताभन्दा बढी सामान खरिद नगर्न र आतंकित नहुन विभागले आग्रह गरेको छ।


