पछिल्लो २९ वर्षमा नेपालले ५ खर्ब रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रतिवद्धता प्राप्त गरे पनि त्यसको केवल ३१ प्रतिशत मात्र वास्तविक रूपमा भित्रिएको देखाएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानी रिपोर्ट २०२४’ अनुसार सन् १९९५/९६ देखि २०२३/२४ सम्मको अवधिमा ५ खर्ब १२ अर्ब रुपैयाँ बराबरको एफडीआई प्रतिवद्धता भएको हो। तर सो अवधिमा वास्तविक रुपमा भित्रिएको लगानी भने १ खर्ब ६३ अर्ब रुपैयाँमा सीमित रहेको छ।
सुरुवाती वर्षमा नै एफडीआई प्रवाह कमजोर देखिएको पाइएको छ। सन् १९९५/९६ मा २ अर्ब २१ करोड रुपैयाँको लगानी प्रतिवद्धता हुँदा पनि केवल १७.५ प्रतिशत अर्थात् ३८ करोड ८० लाख रुपैयाँ मात्रै भित्रिएको थियो। सन् १९९६/९७ मा भने यो अनुपातमा सुधार देखिएको छ। त्यो वर्ष २ अर्ब २९ करोडको प्रतिवद्धता भएसँगै ६७.७ प्रतिशत लगानी नेपाल भित्रिएको थियो।
पछिल्ला वर्षहरूमा पनि लगानी प्रवाह कमजोर देखिएको छ। सन् २०२२/२३ मा ३० अर्ब ६९ करोडको प्रतिवद्धता आएकोमा १९.४ प्रतिशत अर्थात् ५ अर्ब ९६ करोड रुपैयाँ मात्रै भित्रिएको थियो। त्यसको एक वर्षपछि, २०२३/२४ मा ६९ अर्ब ८३ करोडको प्रतिबद्धता भए पनि १२.१ प्रतिशत मात्र, अर्थात् ८ अर्ब ४७ करोड रुपैयाँ मात्रै नेपाल भित्रिएको छ।
हालसम्म नेपालमा कुल ३ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ। यसमध्ये सबैभन्दा ठूलो हिस्सा उद्योग क्षेत्रमा ५९.४ प्रतिशत (१ खर्ब ९७ अर्ब), त्यसपछि सेवा क्षेत्रमा ४० प्रतिशत (१ खर्ब ३४ अर्ब) रहेको छ। कृषि क्षेत्रमा भने अत्यन्त कम ०.१ प्रतिशत मात्र (२८ करोड ८० लाख रुपैयाँ) वैदेशिक लगानी भित्रिएको छ।
नेपालमा वैदेशिक लगानी गर्ने देशमध्ये भारत पहिलो स्थानमा छ। कुल एफडीआईमध्ये ३२.३ प्रतिशत भारतबाट आएको हो। चीन (१०.२%), सिंगापुर (८.३%), आयरल्यान्ड (७%), र दक्षिण कोरिया (६.१%) क्रमशः पछिल्ला स्थानमा छन्। हालसम्म नेपालमा ६० देशले संयुक्त रुपमा ३ खर्ब ३२ अर्ब ९७ करोड रुपैयाँ बराबरको लगानी गरेका छन्।
प्रदेशअनुसार हेर्दा बागमती प्रदेशमा सबैभन्दा धेरै एफडीआई भित्रिएको छ, जुन २ खर्ब ६ अर्ब रुपैयाँ रहेको छ। त्यसपछि क्रमशः कोशी (४४ अर्ब ८७ करोड), गण्डकी (४३ अर्ब ७५ करोड), सुदूरपश्चिम (१३ अर्ब ८६ करोड), मधेश (२० अर्ब १४ करोड), लुम्बिनी (२ अर्ब ९८ करोड) र सबैभन्दा कम कर्णालीमा ७७ करोड ७० लाख रुपैयाँ लगानी भित्रिएको छ।
कोभिड–१९ महामारीपछिको प्रभावमा दक्षिण एशियामा एफडीआई प्रवाहमा गिरावट आएको छ। सन् २०१९ मा ५८.१ अर्ब अमेरिकी डलरको लगानी भित्रिएकोमा सन् २०२४ मा यो रकम घटेर ३४.६ अर्ब डलरमा सीमित भएको छ। भारतमा सबैभन्दा ठूलो गिरावट (४३%) देखिएको छ। सन् २०१९ मा भारतमा ५०.६ अर्ब डलर एफडीआई भित्रिएकोमा सन् २०२४ मा मात्र २७.६ अर्ब डलर पुगेको हो।
त्यस्तै, पाकिस्तानमा ४० प्रतिशतको वृद्धि भएको छ भने नेपालमा एफडीआई १३.८ प्रतिशतले वृद्धि भएको छ। माल्दिभ्समा ८.८ प्रतिशतले वृद्धिको संकेत देखिएको छ।


