माछापुच्छ्रे बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले भदौ २३ गतेसम्म कायम कम्पनीको अन्तिम शेयरमूल्य २४८ रुपैयाँ ३७ पैसाको आधारमा ४ प्रतिशत बोनस शेयरपछिको मूल्य तोकेको हो ।
नेप्सेले बोनस शेयरपछिको मूल्य प्रतिकित्ता २३८ रुपैयाँ ८२ पैसा तोकेको हो । सोही मूल्यको आधारमा असोज २ गतेदेखि कम्पनीको शेयर कारोबार खुला हुनेछ । यस कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीका आधारमा ४ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि समेत ४ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले असोज १० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले भदौ २७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको थियो । भदौ २४ गतेदेखि बन्द रहेको बजार असोज २ गतेदेखि सूचारु हुदैंछ । नेप्सेले यस आधारमा भदौ २३ गतेको कायम अन्तिम मूल्य लिएर बोनस शेयरपछिको मूल्य तोकेको हो ।


