नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शेयर निष्काशनमा ढिलाइ गरेपछि ऊर्जा क्षेत्रका लगानीकर्ताले मात्र १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ गुमाएका छन्।स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले गरेको अध्ययन अनुसार २०८० साल जेठयता ४३ वटा आयोजनाले आईपीओ र ७ वटा कम्पनीले राइट सेयर मार्फत पुँजी संकलनका लागि आवेदन दिए पनि प्रक्रिया अघि बढ्न नसकेकाले यति ठूलो रकम गुमाइएको हो। यी आयोजनाको क्षमतामात्र ९७५ मेगावाट बराबरको रहेको इप्पानले जनाएको छ।इप्पानले बिहीबार सेबोनलाई पठाएको पत्रमा ५० कम्पनीले समयमै सेयर जारी गर्न नसक्दा २३ अर्ब २७ करोड बराबरको निष्काशन रोकिएको, १२ अर्ब ४० करोड बढी ब्याज खर्च बढेको, २४ अर्ब ३० करोड लागत थपिएको र ७१ अर्ब ७८ करोड बराबरको राजस्व आम्दानी गुमेको प्रष्ट गरिएको छ।
सेबोनमा अध्यक्ष नियुक्त नहुनु, ९० प्रतिशतभन्दा बढी नेटवर्थ अनिवार्य गर्नेजस्ता कानुनबाहिरका कारण देखाउँदै शेयर निष्काशन रोकिँदै आएको इप्पानको आरोप छ। यस अवधिमा सेबोनले जम्मा १० कम्पनीलाई मात्र आईपीओ र ११ कम्पनीलाई राइट सेयरको अनुमति दिएको छ।
पत्रमा इप्पान अध्यक्ष गणेश कार्कीले उत्पादनपछिको मात्र नभई निर्माणाधीन अवस्थामै सर्वसाधारणलाई आईपीओमा सहभागी हुन दिने व्यवस्था गर्नुपर्ने माग राखेका छन्। साथै, यस विषयमा पटक–पटक प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्म ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको भन्दै समस्या समाधान नभए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिइएको छ।
यस्तै, सीडीएससीले प्रवद्र्धक र सर्वसाधारणलाई छुट्टाछुट्टै आईजीन नम्बर दिने निर्णयले नेप्सेमा सूचीकरणमा समेत अवरोध भएको भन्दै यसलाई पनि तत्काल खारेज गर्न पत्रमार्फत माग गरिएको छ।
इप्पानले २०८० साल भदौ २४ गते धितोपत्र बोर्डसँग गरेको १२ बुँदे समझदारीमा उल्लेख भएअनुसार संस्थागत सुशासनमा आफ्नो प्रतिबद्धता दोहोर्याउँदै ऊर्जा क्षेत्रलाई व्यवस्थित, मर्यादित र जनउत्तरदायी बनाउन सेबोनले भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याएको छ।


