मुलुकले गराउन लागेको दोस्रो सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) तत्काल स्थगित भएको छ । अर्थ मन्त्रालयका अनुसार जेन–जी आन्दोलनका कारण अन्तर्राष्ट्रिय एजेन्सी फिचले गर्ने तयारीमा रहेको नेपालको क्रेडिट रेटिङ प्रक्रिया अनिश्चितकालका लागि रोकिएको हो ।
फिचको टोलीले भदौ २३ र २४ गते नेपाल भ्रमण गरी प्रत्यक्ष अवस्था अध्ययन गर्ने कार्यतालिका बनाएको थियो । तर, सोही समयमा आन्दोलन चर्किएपछि भ्रमण स्थगित भएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए । उनका अनुसार रेटिङका लागि सरकारको तयारी पूरा भइसकेको भए पनि टोली नआएकाले प्रक्रिया अघि बढ्न सकेको छैन ।
‘फिच टोलीले भ्रमण रोकेपछि अब कहिले र कसरी आउने भन्ने सुनिश्चित छैन,’ सहसचिव पाण्डेयले भने । ‘हाम्रो तयारी पूरा भएको थियो, तर तत्काल रेटिङ हुने अवस्था छैन ।’
अर्थ मन्त्रालयका अर्का एक वरिष्ठ अधिकारीका अनुसार जेन–जी आन्दोलनले अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको छ भने देश अहिले चुनाव उन्मुख भएकाले पनि रेटिङ तत्काल गराउन उपयुक्त छैन । अहिले मूल्यांकन भएमा नतिजा झन् नकारात्मक आउने सम्भावना रहेकाले सरकार स्वयंले पनि रेटिङलाई प्राथमिकतामा नराखेको उनको भनाइ छ ।
गतवर्ष फिचले गरेको मूल्यांकनमा नेपालले बीबी माइनस प्राप्त गरेको थियो । सो रेटिङले मूलतः देशको ऋण तिर्न सक्ने क्षमतासहित अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपालको वित्तीय हैसियत कस्तो छ भन्ने संकेत गर्दछ । तर, अहिले मुलुक सम्पत्ति शुद्धीकरणसम्बन्धी मामिलामा ‘ग्रे लिस्ट’ (खैरो सूची) मा परेकाले पनि सकारात्मक परिणाम आउने सम्भावना न्यून रहेको अधिकारीहरूको मूल्यांकन छ ।
सकारात्मक क्रेडिट रेटिङले नेपाललाई अन्तर्राष्ट्रिय बजारबाट सस्तो ब्याजदरमा ऋण लिन, प्रत्यक्ष विदेशी लगानी (एफडीआई) आकर्षित गर्न र मुलुकको आर्थिक छविलाई मजबुत बनाउन मद्दत गर्ने अपेक्षा गरिएको थियो । तर तत्कालका लागि दोस्रो साख मूल्यांकन अनिश्चितकालका लागि स्थगित भएको छ ।


