नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई पदबाट हटाउन चौतर्फी दबाब बढेको छ। राजनीतिक नियुक्ति खारेज गर्ने तयारीमा रहेको नयाँ सरकार, ‘जेन जी’ आन्दोलनका अगुवा र लगानीकर्ताहरू सबैले उनको राजीनामा वा बर्खास्तगीको माग गरेका छन्। यस दबाबका बीच अर्थ मन्त्रालयले पूँजीबजारमा देखिएका समस्या समाधानका लागि एक अध्ययन कार्यदल गठन गरेको छ। धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई यसअघि नै ओलीले पनि राजीनामा दिन निर्देशन दिइसकेका थिए । तर उनले राजीनामा दिएनन् । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने गरी सेबोनमा अध्यक्षका रुपमा ल्याइएका अध्यक्ष श्रेष्ठले विचौलियामार्फत जलविद्युत कम्पनीहरुसँग आईपीओ अनुमतिका लागि घुस मागेको भनेर समाचारहरु बाहिरिएको थियो ।
कानुनमा हुँदै नभएको विषयलाई देखाएर संसदीय समितिको निर्देशनलाई हवाला दिँदै नेटवर्थका नाममा आईपीओको पाइपलाइनमा रहेका कम्पनीहरु हटाएको विषयमा पनि उनीमाथि छानबिन हुने बताइएको छ । यता जेनजी आन्दोलनपछिको सुशीला कार्की नेतृत्वको नयाँ सरकारले पूववत् सरकारबाट नियुक्ति पाएकाहरुले राजीनामा नदिए हटाउने बारे छलफल अघि बढाइसकेको छ ।
‘जेन जी’ आन्दोलनले नयाँ चुनावी सरकार गठन भएपछि अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तिहरू खारेज गर्ने तयारी सुरु भएको छ। आन्दोलनका अगुवा र यसैबाट बनेको नयाँ सरकारलाई समर्थन गर्ने समूहले पुराना नियुक्तिहरू खारेज गर्नुपर्ने अडान राखेका छन्।
स्रोतका अनुसार, मन्त्रिपरिषद्ले पूर्णता पाउनासाथ अघिल्लो सरकारका पालामा विभिन्न पदमा नियुक्त भएका व्यक्तिहरूलाई बोलाएर राजीनामा दिन निर्देशन दिने तयारी गरिएको छ। युवा पुस्ताको ‘जेन जी’ समूहले देशलाई नयाँ दिशामा लैजानका लागि यस्ता नियुक्तिहरू बदर गर्नु अनिवार्य भएको माग राखेको छ।
‘हामी नेपाल’का संयोजक सुदन गुरुङले जेन जी आन्दोलनको समर्थनमा बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई समर्थन दिनका लागि पुरानो राजनीतिक नियुक्तिहरू खारेज गर्नुपर्ने शर्त नै राखेका छन्। उनले संवैधानिक निकायहरूमा भएका नियुक्ति र राजनीतिक प्रभावमा विदेश पठाइएका राजदूतहरूलाई समेत फिर्ता बोलाउनुपर्ने स्पष्ट माग गरेका छन्। यस कदमले नेपालको राजनीतिक र प्रशासनिक संरचनामा ठूलो फेरबदल आउने सम्भावना देखिएको छ।
अध्ययन कार्यदल गठन
पूँजीबजारको अस्थिरता र समस्या समाधान गर्न अर्थमन्त्री खनालले चार सदस्यीय कार्यदल गठन गरेका छन्। धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा रहेको यस कार्यदलमा नेपाल राष्ट्र बैंक र नेपाल स्टक एक्सचेन्जका प्रतिनिधि पनि रहेका छन्। यो कार्यदललाई पाँच दिनभित्र पूँजीबजारमा देखिएका समस्या र लगानीकर्ताको मनोबल वृद्धि गर्ने उपायसहितको ठोस कार्ययोजना पेस गर्ने जिम्मेवारी दिइएको छ।
कानुनी व्यवस्था
नेपाल धितोपत्र बोर्ड ऐन, २०६३ अनुसार, बोर्डको हितविपरीत काम गरेमा सरकारले छानबिन समिति गठन गरी त्यसको सिफारिसमा अध्यक्षलाई पदबाट हटाउन सक्ने व्यवस्था छ। यद्यपि, अध्यक्षलाई आफ्नो पक्षमा सफाई पेस गर्ने उचित अवसर प्रदान गर्नुपर्नेछ। अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले कामु अध्यक्षको जिम्मेवारी सम्हाल्ने व्यवस्था छ।


