श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले उद्योग प्रभावित स्थानीयमा जारी गरेको आईपीओ बाँडफाँट गरेको छ ।
कम्पनीले स्थानीयमा भदौ ११ देखि २५ गतेसम्मको आईपीओ निष्कासन मिति तय गरेको देशमा आन्दोलनपछि सिर्जना भएको परिस्थितिले आवेदनमा असर परेको भन्दै स्थानीयको आग्रहमा भदौ ३० र ३१ गते निष्कासन खुला गर्ने गरेको थियो ।
तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ३ हजार ७७७ जना आवेदकहरूमा असोज ९ गते आईपीओ बाँडफाँट गरिएको हो ।
कम्पनीले सर्वसाधारणमा जारी हुने शेयरमध्ये पहिलो चरणमा उद्योग प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरिएको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने आईपीओ निष्कासन गरी बाँडफाँट समेत गरिसकिएको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशतले हुन आउने ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको हो । जसमध्ये १ करोड ६३ लाख १२ हजार ५०० रुपैयाँ बराबरका १ लाख ६३ हजार १२५ कित्ता आईपीओ उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरिएको हो ।
त्यस्तै सर्वसाधारणमा जारी हुने शेयरमध्ये १० प्रतिशतले हुन आउने ३ करोड ९ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको ३ लाख ९ हजार ९३८ कित्ता भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिएको हो ।
यस कम्पनीले कुखुराको चल्ला र अण्डासँगै कुखुराको लागि सुनौलो प्लेट दाना, माछा र बंगुरलाई आवश्यक पर्ने दाना पनि उत्पादन गर्दै आएको छ । कम्पनीले कृषकलाई कृषिसम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ भने किसानले उत्पादन गरेका सामग्रीहरू खरीद गरेर बजारसम्म पुर्याउँदै आएको छ ।
यो कम्पनी नेपालकै पहिलो आईएसओ प्रमाणित एकीकृत कृषि व्यवसाय हो । श्रीनगर एग्रो फार्म प्रालिमार्फत प्यारेज तथा ह्याचरी उद्योग स्थापना गरिएको छ ।
यो कम्पनी आर्थिक वर्ष ०७९/८० देखि सञ्चित नाफामा छ । उक्त वर्ष ३७ लाख ८० हजार रूपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको कम्पनी आर्थिक वर्ष ०८०/८१ मा भने ५८ लाख ८२ हजार रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको हो ।
गत आर्थिक वर्ष ०८१/८२ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी २ करोड १९ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा छ । कम्पनीको वास्तविक प्रतिशेयर आम्दानी १ रुपैयाँ १७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ५९ पैसा छ ।


