नेपाल राष्ट्र बैंकले एक शेयर धितो कर्जामा तोकिएको सीमा हटाएको छ हो। बैंकले शेयर लगानीकर्ताको माग अनुसार २५ करोडको सीमा हटाएको हो।
पहिले एक बैंक वा वित्तीय संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल २५ करोड रुपैयाँ कायम गरिएको थियो। लगानीकर्ताको मागलाई सम्बोधन गर्दै राष्ट्र बैंकले सो व्यवस्था खारेज गरेको छ। यससँगै अब लगानीकर्ताले आफ्नो वित्तीय क्षमताअनुसार शेयर धितो कर्जा लिन सक्ने भएका छन्।
राष्ट्र बैंकले खरीद गरेको एक वर्ष पूरा भएका लगानीमध्येकामध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशतसम्म मात्र बिक्री गर्न सकिने व्यवस्था पनि खारेज गरेको छ।
यस्तै, सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेका संगठित संस्थाका शेयर तथा डिबेञ्चरमा अब ६ महिनाभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने व्यवस्था गरिएको छ। बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट सूचीकृत कम्पनीका शेयरमा अल्पकालीन लगानी गर्न नपाउने प्रावधान पनि कायम गरिएको छ।
धितोपत्र विनिमय बजारमा सूचीकृत नभएका संगठित संस्थाका शेयर वा डिबेञ्चरमा लगानी गर्दा, त्यस्तो लगानी गरेको मितिले तीन वर्षभित्र सूचीकृत नभएमा त्यस बराबरको रकम सञ्चित मुनाफाबाट खर्च गरी ‘लगानी समायोजन कोष’मा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तो कोषमा जम्मा भएको रकम सूचीकृत नभएसम्म उपयोग गर्न नपाइने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
तर, प्रचलित कानुन बमोजिम सूचीकृत हुन नपर्ने संस्था वा कम्पनीमा संस्थाको ५१ प्रतिशत वा सोभन्दा बढी लगानी रहेको अवस्थामा, साथै कर्जा सूचना केन्द्र लिमिटेड, नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, नेशनल बैंकिङ्ग इन्स्टिच्युट, नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा पूर्वाधार विकास बैंकको शेयरमा गरिएको लगानीमा भने यस्तो कोष अनिवार्य नहुने जनाइएको छ।
शेयर लगानीकर्ताले लामो समयदेखि कर्जा सीमाको खारेजीका लागि दबाब दिँदै आएका थिए। राष्ट्र बैंकको यस निर्णयलाई बजारले लगानीमैत्री कदमका रूपमा स्वागत गरेको छ। यसले सेयर बजारमा नयाँ ऊर्जा थपिने तथा लगानीकर्ताको आत्मविश्वास पुनःस्थापित हुने अपेक्षा गरिएको छ।


