Banijya News

५४ अर्ब रुपैयाँको आईपीओ पाइपलाइनमा, सबैभन्दा बढी हाइड्रोपावर !

1
1.2K Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन)मा विभिन्न क्षेत्रका ७५ वटा कम्पनीले कुल ५४ अर्ब १५ करोड ३१ लाख ८७ हजार ८६१ रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि अनुमति मागेका छन्। यी कम्पनीहरूले कुल ३७ करोड ५४ लाख २० हजार ३५३ कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका हुन्।

धितोपत्र बोर्डका तथ्यांकअनुसार अहिले पाइपलाइनमा रहेका कम्पनीमध्ये सबैभन्दा बढी संख्या हाइड्रोपावर क्षेत्रका कम्पनीहरूको छ। हाइड्रोपावर क्षेत्रका मात्रै ३७ वटा कम्पनीले आईपीओ निष्कासनको स्वीकृतिका लागि आवेदन दिएका छन्। यी कम्पनीहरूले कुल १७ करोड ८५ लाख २८ हजार ७५४ कित्ता सेयर जारी गर्ने तयारी गरेका छन्, जसको कुल मूल्य १८ अर्ब २६ करोड १ लाख ४० हजार २३६ रुपैयाँ बराबर हुन्छ।

रकमका हिसाबले हेर्दा भने उत्पादन तथा प्रशोधन समूहको आईपीओ सबैभन्दा ठूलो रहेको छ। उक्त समूहका कम्पनीहरूले १२ करोड ६९ लाख ९२ हजार २७२ कित्ता सेयर निष्कासनका लागि अनुमति मागेका छन्, जसको मूल्य २७ अर्ब ४ करोड ४९ लाख १६ हजार ७२५ रुपैयाँ बराबर छ।

त्यसैगरी, होटल तथा पर्यटन समूहका तीन वटा कम्पनीले १ करोड ४२ लाख १० हजार कित्ता सेयर निष्कासनका लागि १ अर्ब ४२ करोड १० लाख रुपैयाँ बराबरको आईपीओ अनुमति मागेका छन्। लगानी समूहका चार वटा कम्पनीले ३ अर्ब १४ करोड १० लाख ३७ हजार ५०० रुपैयाँ बराबरको १ करोड ८६ लाख ५० हजार ३७५ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन्।

त्यस्तै, बीमा क्षेत्रका तीन वटा लघु बीमा कम्पनी—प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स—ले पनि आईपीओ स्वीकृतिका लागि आवेदन दिएका छन्। यी कम्पनीहरूले ६७ करोड ५० लाख रुपैयाँ बराबरका ६७ लाख ५० हजार कित्ता सेयर निष्कासनका लागि माग गरेका छन्।

अन्य समूहमा पर्ने १० वटा कम्पनीले ३ अर्ब ४३ करोड ८७ लाख ५ हजार ४०० रुपैयाँ बराबरका २ करोड ७६ लाख ६५ हजार ५४ कित्ता सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा अनुमति मागेका छन्।

विकास बैंक समूहमा एउटा कम्पनी—सालपा विकास बैंक—ले पनि आईपीओ निष्कासन स्वीकृतिका लागि आवेदन दिएको छ। यस बैंकले १७ लाख २३ हजार ८८० कित्ता सेयर निष्कासनका लागि १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको अनुमति मागेको छ।

यसरी हाल नेपाल धितोपत्र बोर्डमा विभिन्न क्षेत्रका ७५ कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति मागे पनि चालु आर्थिक वर्षमा अहिलेसम्म कुनै पनि कम्पनीलाई बोर्डले स्वीकृति दिएको छैन।

1

Scroll to Top