Banijya News

सुनको भाउ सँगै माग पनि तीव्र रुपमा बढ्दै, थप आयातको तयारीमा वाणिज्य बैंक

1
1.2K Shares

अन्तर्राष्ट्रिय बजारको प्रभावले सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुग्दा पनि नेपाली बजारमा सुनको माग तीव्र रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४८ हजार नौ सय रुपैयाँ तोकेको छ, जुन इतिहासकै सबैभन्दा महँगो मूल्य हो। मूल्य अकासिए पनि मागमा कमी नआएपछि, असोज महिनामा मात्रै ४०० केजी सुन आयात भइसक्दा पनि मौज्दात सकिन लागेपछि वाणिज्य बैंकहरूले थप सुन आयात गर्ने तयारी थालेका छन्।

यसरी मूल्य आकासिएको बेला पनि सुनको माग तीव्र रूपमा बढेको पाइएको छ। विशेषगरी, गहनाभन्दा पनि व्यक्तिगत लगानीका लागि ‘काँचो सुन’ (ढिका सुन) खरिद गर्नेहरूको संख्या बढिरहेको व्यवसायीहरू बताउँछन्।

महासंघका निवर्तमान अध्यक्ष माणिकरत्न शाक्यले महँगो भए पनि सुनको खपत राम्रो रहेको र मूल्य अझै बढ्ने अनुमानका कारण ग्राहकहरूले अहिले नै सुन किनेर राख्न खोजेको बताएका छन्।

बजारमा सुनको माग उच्च भएपछि यसको आयातमा समेत उल्लेख्य वृद्धि भएको छ। नेपालमा सुन आयातको जिम्मा पाएका वाणिज्य बैंकहरूको तथ्यांकले असोज महिनामा मात्रै चार सय केजी सुन आयात भएको देखाउँछ। जबकि साउन र भदौ महिनामा कुल दुई सय एक केजी मात्रै आयात भएको थियो।

नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले व्यवसायीहरूको माग उच्च रहेको भन्दै बैंकहरूसँग अहिले ९३ केजी मात्रै सुन मौज्दात रहेको जानकारी दिएका छन्। उनले माग धान्नका लागि वाणिज्य बैंकहरूले थप सुन आयात गर्ने तयारी गरिरहेको बताए।

यसैबीच, नेपाल राष्ट्र बैंकले गत असोज २४ गतेदेखि लागू हुने गरी सुन आयातको दैनिक सीमा २० केजीबाट बढाएर २५ केजी पुर्‍याएको छ। मागको वृद्धिलाई सम्बोधन गर्न यो कोटा बढाइए पनि विगतमा २० केजीको सीमामा समेत आयात नहुने गरेको अवस्थामा अचानक माग बढ्नुलाई कतिपयले अस्वाभाविक मानेका छन्।

यस मूल्यवृद्धिसँगै सुन अब सर्वसाधारण नेपालीको पहुँचभन्दा बाहिर पुगेको अर्थविद् तथा राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए। राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकअनुसार नेपालीको वार्षिक प्रतिव्यक्ति आम्दानी रु. २ लाख ६ हजार ४२४ रहेको छ, जसले गर्दा अहिले एक तोला सुनको मूल्य औसत नेपालीको एक वर्षको आम्दानीभन्दा ४२ हजार ४७६ रुपैयाँ बढी पुगेको छ।

मूल्य बढ्नुको कारण

अन्तर्राष्ट्रिय बजारमा कायम मूल्यका आधारमा नेपालमा सुनको भाउ तोकिन्छ। विश्वव्यापी राजनीतिक तथा आर्थिक अनिश्चितता, अमेरिकाको ब्याजदर नीतिमा आएको परिवर्तन, र विभिन्न देशहरूमा भइरहेका भूराजनीतिक तनावका कारण ठूला लगानीकर्ताहरू डलर र सेयर बजारबाट लगानी फिर्ता गरी सुनलाई सुरक्षित लगानीको रूपमा रोजिरहेका छन्। भारत, चीन र रसियाजस्ता देशका केन्द्रीय बैंकहरूले समेत डलरको सट्टा सुन किनेर सञ्चित गरिरहेका छन्। यी कारणहरूले अन्तर्राष्ट्रिय बजारमा सुनको माग र मूल्य बढेकाले नेपालमा पनि सोही अनुपातमा भाउ वृद्धि भएको हो।

1

Scroll to Top