काठमाडौंको प्रतिष्ठित पाँचतारे होटल हायात रिजेन्सी जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडलाई कारण देखाउँदै अनिश्चितकालका लागि बन्द गरिएको छ । भदौ २४ गते राति भएको तोडफोडमा होटलको लबी र केही भाग जलेको थियो भने भाग्ने क्रममा लडेर एक भारतीय पर्यटक महिलाको निधन भएको थियो । होटलका मानव संशाधन निर्देशकले एक सूचना निकालेर मर्मत तथा पुनर्निर्माणको जोखिम र सुरक्षाजन्य संवेदनशीलताका कारण होटल बन्द गरिएको उल्लेख गरेका छन् ।
यद्यपि, होटल बन्दको यो निर्णयलाई ट्रेड युनियन नेता तथा श्रमिकहरूले भने व्यवस्थापन पक्षको एकतर्फी कदम भन्दै विरोध जनाएका छन् । वर्षौंदेखि सेवा सुविधाबारे व्यवस्थापनसँग असमझदारी कायम रहँदै आएको र अदालतमा समेत मुद्दा विचाराधीन रहेको अवस्थामा जेन–जी आन्दोलनलाई बहाना बनाएर करिब ८/९ सय कर्मचारीको रोजगारी खोस्ने प्रयास भएको उनीहरूको दाबी छ ।
व्यवस्थापन र ट्रेड युनियनबीच कात्तिक २ गते वार्ता भए पनि होटल बन्द गर्ने र श्रमिकलाई घर पठाउने विषयमा सहमति नभएको श्रमिक नेताहरूको भनाइ छ । उनीहरूले तिहारपछि वार्तालाई निरन्तरता दिने भनिए पनि त्यसपछि श्रमिकलाई प्रवेश निषेध गरिनु र भान्सा तथा ट्वाइलेटमा समेत ताला लगाइनु गलत भएको बताएका छन् ।
यस संवेदनशील विषयमा प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन् भने अर्थमन्त्री रामेश्वर खनालले होटल व्यवस्थापनलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिँदै कत्ति पनि विचलित नभई सेवा सुचारु गर्न आग्रह गरेका छन् । सरकारले यस विषयमा थप छलफल गर्ने जनाएको छ । करिब २६ वर्ष पुरानो यस होटलको २८० वटा कोठालाई रेनोभेट गर्ने पुरानो योजना रहे पनि हाल सम्पूर्ण सेवा नै बन्द गरिएको छ। श्रमिकहरूले मर्मतमा सहयोग गर्न तयार रहेको बताउँदै सयौँको रोजगारी गुम्ने गरी निर्णय नलिन व्यवस्थापनलाई आग्रह गरेका छन्।



