Banijya News

तोडफोड र आगजनीमा परेको मौलाकाली केवलकार पुनः सञ्चालनमा

1
1.1K Shares

नवलपुरको गैंडाकोटस्थित मौलाकाली केवलकार दुई महिनाभन्दा बढीको अन्तरालपछि पुनः सञ्चालनमा आएको छ। गत भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएपछि यसको सेवा रोकिएको थियो। यस घटनामा केवलकारको बटम स्टेशनमा रहेको कार्यालय भवन, फर्निचर, र महत्त्वपूर्ण प्राविधिक उपकरणहरूमा ठूलो क्षति पुगेको थियो, जसका कारण सेवा पूर्ण रूपमा बन्द गर्नुपरेको थियो।

केवलकारलाई पुरानै अवस्थामा फर्काउन निर्माता कम्पनी अष्ट्रियाको डोपलमायर का प्राविधिकहरूको टोलीले महत्त्वपूर्ण भूमिका खेल्यो। उनीहरूले आवश्यक सामग्रीसहित नेपाल आएर केवलकारको सम्पूर्ण पुनर्निर्माण कार्य सम्पन्न गरे। पुनर्निर्माणपछि पनि डोपलमायरका दक्ष इन्जिनियरहरूको समूहले लामो समयसम्म गहन परीक्षण गरे, र त्यो परीक्षण सफलतापूर्वक सकिएपछि मात्र केवलकारलाई नियमित सञ्चालनमा ल्याइएको स्टेशन म्यानेजर सुरज पौडेलले जानकारी दिए।

केवलकारको सेवा अवरुद्ध हुँदा माथिल्लो स्टेशनमा रहेको इला रिसोर्ट को व्यापारमा पनि नकारात्मक असर परेको थियो। होटलका सेवाहरू यथावत भए पनि केवलकारको पहुँच नहुँदा सेवाग्राहीको संख्या ह्वात्तै घटेको थियो। केवलकार सञ्चालनमा आएपछि अब रिसोर्टका सेवाग्राहीहरूलाई अझ उत्कृष्ट सेवा दिन सकिनेमा इला रिसोर्ट तथा मौलाकाली केवलकारका महाप्रबन्धक अरबिन्द्र केसी विश्वस्त छन्।

यस केवलकारको सेवा बन्द हुँदा मौलाकालिका मन्दिर मा आउने भक्तजनको संख्यामा समेत ठूलो गिरावट आएको थियो। धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाका अनुसार केवलकार नचल्दा मन्दिरमा भक्तजनको चहलपहल निकै कम भएको थियो। केवलकार पुनः सञ्चालनमा आउँदा मन्दिरमा भक्तजनको संख्यामा ३० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ, जसले यस क्षेत्रको धार्मिक पर्यटनलाई पुनर्जीवन दिएको छ।

२०८० साल वैशाखदेखि सञ्चालनमा आएको यो केवलकारले छोटो समयमै करिब ६ लाख सेवाग्राही लाई सेवा प्रदान गरिसकेको छ। अब, मौलाकाली केवलकार आफ्नो पूर्ववत् तालिका अनुसार विहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ, जसले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई यो सुन्दर गन्तव्यमा पुग्न थप सहज बनाएको छ।

1

Scroll to Top