भूमि सुधार तथा मालपोत कार्यालयहरूले दुई वर्षअघि किनबेच भएका घरजग्गाको बेरुजु फर्छ्योट गर्न भन्दै खरिदकर्ता र बिक्रीकर्ता दुवैलाई पत्र पठाएका छन् । महालेखापरीक्षकको कार्यालयले वार्षिक प्रतिवेदनमा बेरुजु देखाएको र बेरुजु उठाउन आफूहरूलाई ताकेता गरेको भन्दै मालपोत कार्यालयहरूले क्रेता र विक्रेतालाई पत्र पठाएर रजिस्ट्रेसनबापतको अपुग रकम सात दिनभित्र भुक्तानी गर्न भनेका हुन् ।
पत्रमा दुई वर्षअघि कारोबार भएको घरजग्गाको रजिस्ट्रेसन शुल्कबापतको घटी हुन आउने रकम सात दिनभित्र पेस गरी बेरुजु फर्छ्योट गर्न भनिएको छ ।
भूमि सुधार तथा मालपोत कार्यालयको आर्थिक वर्ष २०८१/८२ को न्यूनतम मूल्यांकन पुस्तिकाको बुँदा नम्बर ६ मा साबिक तथा मूल कित्ताबाट कित्ताकाट भई पारित हुने अथवा भएका कित्ता जग्गाको क्षेत्रफलको अनुपातमा मूल तथा साबिक कित्ताअनुसार समान न्यूनतम मूल्यांकन कायम गरिने उल्लेख छ । यही व्यवस्थामा टेकेर महालेखाले बेरुजु देखाएको थियो ।
अहिले मालपोत कार्यालयहरूले महालेखापरीक्षकको प्रतिवेदनलाई देखाउँदै रकम तिर्न ताकेता गर्दै आएका छन् । दुई वर्षअघि खरिद–बिक्री सकिएर स्वामित्व हस्तान्तरण भइसकेको सम्पत्तिबारे अहिले आएर शुल्क रकम पुगेन, भुक्तानी गर भन्दै पत्र आएपछि घरजग्गा व्यवसायीसँगै उपभोक्ता पनि त्रासमा छन् । भूतप्रभावी शुल्क लगाएर सरकार (मालपोत) ले सही निर्णय नगरेको उनीहरूको भनाइ छ ।
मालपोत कार्यालयले आर्थिक वर्ष २०८०/८१ को महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख भएको भन्दै रजिस्ट्रेसन शुल्कबापतको घटी हुन आउने रकम तिरेर बेरुजु फर्छ्योट गर्न पत्र पठाएको हो । मालपोत कार्यालयहरूको पत्रले घरजग्गा कारोबारमा अस्थिरता सिर्जना गरेको नेपाल घरजग्गा तथा आवास विकास महासंघले जनाएको छ ।


